शनिवार, बैशाख ११ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ११, सौन्दर्य कला व्यवसायी संघ खोटाङले अग्नी पीडित उद्योगीलाई राहत प्रदान गरेको छ । गत चैत ३१ गते बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षती बेहोरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित गणेश फर्निचर उद्योगका सञ्चालक हर्कराज राईलाई सौन्दर्य कला व्यवसायी संघले राहत स्वरुप १० हजार २० रुपैयाँ सहयोग गरेको हो ।
सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष नितु राई उदासले शनिबार उद्योगका प्रोपाईटर राईलाई घरैमा पुगेर राहत रकम प्रदान गरेकी हुन् । अग्नी पिडित उद्यमीलाई राहत प्रदान गर्नका लागि संघका उपाध्यक्ष सावित्रा राई, सचिव भद्रा श्रेष्ठ, कोषाध्यक्ष मिना खत्री, सदस्यहरु पुष्पा राई, शोभा राई, लिलामायाँ मगर, उर्मिला भुजेल, लक्ष्मी राई, विनिता बस्नेत लगायतको टोली रत्नपार्कस्थित फर्निचर उद्योगमा पुगेका थिए ।
जिल्लामा ग्राहकको मन जित्न सफल फर्निचर उद्योगलाई सहानुभुती स्वरुप राहत प्रदान गरिएको अध्यक्ष उदासले बताईन् । यसअघि दिक्तेलकै माटिकोरे टोलबासीले सहयोग उठाएर आगलागी पिडित उद्यमी राईलाई २५ हजार ६५० रुपैयाँ राहत प्रदान गरेको थियो । आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको थियो ।
आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको थियो । विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।