बुधवार, बैशाख १५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १५, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । कोषमा जम्मा भएको रकमबाट प्राकृतिक विपत्तीमा परेका, गम्भीर प्रकृतिका रोगबाट पिडित गरीव तथा असहाय सर्वसाधारणलाई सहयोग गर्दै आएको विपद व्यवस्थापन कोषलाई सोही ठाउँको सर्वजित स्मृति प्रतिष्ठान कोषले एक लाख १०१ रुपैयाँ सहयोग गरेको हो ।
सर्वजित स्मृति प्रतिष्ठान कोषका अध्यक्ष सिताराम राईले बुधबार सोल्मा विपद व्यवस्थापन कोषका अध्यक्ष ध्रुबबिक्रम राईलाई रकम हस्तान्तरण गरेका छन् । कोषमार्फत आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एबं मुटु, मिर्गौला जस्ता दिर्घरोगबाट पिडित भएर समस्यामा परेका स्थानीयलाई सहयोग गर्ने गरिएको सोल्मा विपद व्यवस्थापन कोषका सचिव गंगाबहादुर बिश्वकर्माले बताए ।
प्राकृतिक तथा दैवी विपत्तीमा परेका वडाबासीको सहयोगार्थ सोल्माका युवाले देउसी खेलेको ५४ हजार रकमबाट २०७६ साल कात्तिकमा विपद व्यवस्थापन कोष खडा गरिएको हो ।
हालसम्म प्राकृतिक विपत्ती एबं दिर्घरोगबाट पिडित भएका स्थानीयलाई ८० हजार बराबरको सहयोग गरिसकिएको कोषले जनाएको छ । विवाह, जन्म दिन, स्मृति दिवस जस्ता शुभ कार्यका बेला व्यक्तीबाट स्वेच्छिक सहयोग संकलन गर्दै कोषमा रकम जम्मा गर्ने गरिएको सचिव बिश्वकर्माले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा सोल्माकै मिलन राईले अग्नी पिडित सुनिरा बिश्वकर्मालाई घरमा जस्ताको छाना हाल्नका लागि २० हजार सहयोग गरेका छन् । केही समयअघि भएको आगलागीमा सुनिराको घाईते भएका श्रीमानको उपचारकाक्रममा मृत्यु भएको थियो ।