बुधवार, बैशाख १५ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १५, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट पिडित फर्निचर उद्योगीलाई राहत प्रदान गरेको छ । गत चैत ३१ गते बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षती बेहोरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित गणेश फर्निचर उद्योगका सञ्चालक हर्कराज राईलाई सहयोग स्वरुप १० हजार राहत प्रदान गरेको हो ।
बुधबार कोषका विशिष्ट सदस्य राजकुमार राईले गणेश फर्निचर उद्योगका प्रोपाईटर राईलाई घरमै पुगेर राहत हस्तान्तरण गरेका छन् । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँत, सदस्य जीवन राई लगायतको टोलीले अग्नी पिडित फर्निचर उद्यमीलाई राहत प्रदान गरेका हुन् ।
अग्नी पिडित फर्निचर व्यवसायी राईलाई बैसाख १२ गते उद्योग बाणिज्य संघ खोटाङले राहत स्वरुप एक लाख प्रदान गरेको थियो । यस्तै, सौन्दर्य कला व्यवसायी संघले १० हजार २० रुपैयाँ र दिक्तेलकै माटिकोरे टोलबासीले चन्दा उठाएर २५ हजार ६५० रुपैयाँ राहत प्रदान गरेको थियो ।
आगलागीमा टिनको छाना हालिएको काठले बारेको एक तले उद्योग घर, उद्योगमा भएका उपकरण, तयारी अवस्थाका फर्निचर, कच्चा काठ लगायत जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीमा ४ थान कटर मेसिन, एक थान जेनेरेटर, खराट मेसिन, २५ थान हाते मेसिन, १० लाख बराबरको तयारी अवस्थाका फर्निचर, फर्निचरका सामान बनाउन राखिएको ३७ लाख ५० हजार बराबरको काठ, १२ वटा कुखुरा लगायत जलेर नष्ट भएको थियो । विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।