बुधवार, बैशाख २२ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख २२, विद्युतको पोलबाट करेन्ट लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ । माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो ।
हाइटेन्सनलाईनको तारले पोललाई छोएपछि पोलमा प्रवाह भइरहेको करेन्ट लाग्दा बुधबार बिहान बालकको घट्नास्थलमै मृत्यु भएको हो । कात्तिकेस्थित फुपुको घर जानेक्रममा साविकको धितुङ–३ र धितुङ–४ को बिचमा पर्ने भँगेरी जंगलमा सडकको डिलमा रहेको पोलमा लिक भएको करेन्टले बालकको ज्यान लिएको वडाध्यक्ष पृथ्बीराज राईले बताए ।
टिकीहाङलाई करेन्ट लागेपछि उनीसँगै रहेका अर्का बालकले परिवारलाई खबर गरेका थिए । बालक बुलापन्थे माबिमा कक्षा ४ मा अध्ययनरत थिए । काठ्माण्डौंमा रहेका उनी गत वर्षको लकडाउनमा गाउँ आएर बुलापन्थे माबिमा भर्ना भएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ‘दुई जना फुपुको घर जाँदै थिएछन्, एक जनालाई करेन्ट लागेपछि अर्को जनाले परिवारलाई खबर गरेपछि घट्नाको बारेमा थाहा भएको हो,’ वडाध्यक्ष राईले भने, ‘माटी फुटेपछि तारले पोललाई छुँदा गए राती गाउँलेले सो स्थानमा ह्वार–ह्वार्ती आगो बलेको देखेका रहेछन् । तर बाईकको लाईट बालिएको आशंका गरेछन् । घट्नापछि मात्र पोलमा आगो बलेको थाहा भयो ।’