शुक्रवार, बैशाख २४ २०७८
नेपाल वाइड
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा, मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा, गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखा, सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।
काठमाडौंदेखि झापा, मोरङ जाने यात्रुहरुसँग जनही तीन हजारदेखि ४५ सयसम्म भाडा लिने इन्द्रेणी हाइसको काउन्टर र प्रदेश ३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सुरेललाई वृत्त गौशाला र अन्य दुईजनालाई आवश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।
उपत्यकामा जारी भएको निषेधाज्ञापछि वैदेशिक रोजगारबाट आई घर फर्कने र अत्यावश्यक परी उपत्यका्बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेकोभन्दा तीन गुणा बढी भाडा लिने काउन्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।