Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    हलेसी तुवाचुङ नगरका उपमेयर राईले एम्बूलेन्स बनाउन आफ्नै गाडी उपलव्ध गराइन्

    हलेसी तुवाचुङ नगरका उपमेयर राईले एम्बूलेन्स बनाउन आफ्नै गाडी उपलव्ध गराइन्


    • मंगलवार, बैशाख २८ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरका उपमेयर राईले एम्बूलेन्स बनाउन आफ्नै गाडी उपलव्ध गराइन्
    गाडीसँगै हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राई । तस्बिर सौजन्य:

    खोटाङ । बैसाख २८, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफुले प्रयोग गर्दैआएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलव्ध गराएकी छन् ।

    पशु विभागले नगरपालिकालाई हस्तान्तरण गरेको बा १ झ ६४२४ नम्बरको गाडी उपमेयर राईले कोभिड–१९ विरुद्धको स्वास्थ्य अभियान सञ्चालनदेखि संक्रमित बोक्नका लागि नगरको स्वास्थ्य शाखा संयोजकलाई उपलव्ध गराएकी हुन् ।

    आफुले चढ्दैआएको गाडीलाई कोभिड–१९ बिरुद्धको सचेतनामुलक अभियानकाक्रममा स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा पुग्न, आवश्यक औषधि तथा सामग्री स्वास्थ्यचौकीमा पुर्‍याउन र संक्रमितलाई आइसोलेसन वा अस्पतालसम्म पुर्‍याउने प्रयोजनका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको उपमेयर राईले बताईन् ।

    उपमेयर राईले एम्बूलेन्सकारुपमा उपयोग गर्नेगरी गाडी उपलव्ध गराएपछि हाल नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सोही गाडी लिएर नगरपालिकाका ११ वटै वडामा पुगेर कोभिड–१९ विरुद्ध जनचेतनामुलक कार्यक्रम प्रवाह गर्ने, स्वास्थ्यचौकीमा औषधि तथा उपकरण पुर्‍याउने लगायतका काम गरिरहेका छन् । भोलीका दिनमा महामारी बढ्दै गए र बिरामी ओसार्नु परेको खण्डमा त्यही गाडीलाई एम्बूलेन्सकारुपमा उपयोग गरिने उपमेयर राईले बताईन् ।

    बिरामी बोक्नका लागि नगरपालिकामा एम्बूलेन्स नभएको होईन । तर, भएको एम्बूलेन्स ‘कन्डिसन’मा छैन । कोभिड–१९ को महामारीका बेला २०७७ साल जेठ ६ गते हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक युवालाई कोभिड संक्रमण भएको पूष्टि भयो ।

    उनलाई तत्काल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर पुर्‍याउनु पर्ने थियो । तर, मर्मत गरेर राखेको एम्बूलेन्स भरपर्दो भएन । संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि अन्य सवारी साधनको खोजी गरिए, गाडी पाउन गार्‍हो भयो । भाडामा गाडी पाइयो तर चालक गाडी चलाउन तयार भएनन् ।

    बल्लतल्ल चालकलाई तयार पारेपछि संक्रमितलाई अस्पतालसम्म पुर्‍याइएको थियो । यसपल्टको कोभिड–१९ को महामारीमा पनि तत्काल बिरामीलाई आइसोलेसन सेन्टर वा अस्पताल पुर्‍याउनका लागि सवारी साधनको समस्या नहोस् भन्नका लागि स्वास्थ्य शाखालाई गाडी उपयोग गर्न दिइएको उपमेयर राईले बताईन् ।

    ‘पोहोर गाडी नपाएर बिरामीलाई अस्पताल लैजान आपत पर्‍यो । जसोतसो गाडी त पाइयो, चालक नमान्ने । बल्लबल्ल काम गरियो । बिरामीलाई आइसोलेसन सेन्टर वा जिल्ला बाहिर लैजान परे तत्काल अरु गाडी व्यवस्था गर्न सकिन्न । अरु गाडी दिँदैन पनि । यसपल्ट पनि त्यही समस्या होला भनेर यही गाडी चलाउन दिइएको हो,’ उपमेयर राईले भनिन्, ‘बिरामी बोक्नुपर्ने अवस्था नभएसम्मका लागि स्वास्थ्यकर्मीले आवश्यकता अनुसार आफ्नो काममा उपयोग गर्छ ।

    भोली बिरामी ओसार्न परेको खण्डमा त्यही गाडीले ओसार्छ । संकटको बेला स्वास्थ्यकर्मीलाई पनि सहज होस् र बिरामी बोक्न पनि सहज होस् भन्ने तयारी हो ।’ नगरपालिकामा हालसम्म ११ संक्रमित भेटिइसकेका छन् ।

    स्वास्यकर्मी सोही गाडी चढेर संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा ‘फलोअप’मा गइरहेका छन् । वर्षा सुरु भएकाले कतिपय सडकमा बाईक हिँडाउन समस्या हुने भएकाले पनि स्वास्थ्यकर्मीका लागि गाडी सहज हुने उपमेयर राईले बताईन् ।

    सम्बन्धित समाचार