Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप

    चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप

    पछौटे मकैलाई पनि फौजी किराले आक्रमण गर्नेमा किसान चिन्तित

    • शुक्रवार, बैशाख ३१ २०७८

    • नेपाल वाइड


    चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप
    चिसापानीको खुटामा फौजी किराले खाएको मकैको बिरुवा ।

    खोटाङ । बैसाख ३१, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो ।

    चिसापानी खुटाका १२/१३ घर किसानले खेतमा लगाएको अघौते मकैको बिरुवा फौजी किराले सखाप बनाएको स्थानीय बद्री खड्काले बताए । फौजी किराको प्रकोपका कारण मकैका अधिकांश बोट ठुटो बनेको छ । कतिपय बोटको टुप्पा काटिएको छ भने कतिपय बोटको पात टुक्रिएको र प्वाल नै प्वाल परेको देखिन्छ ।

    मकैको बिरुवाको गुवा च्यातेर हेर्दा एक/दुई वटा किरा र अण्डा भेटिने गरेको खड्काले बताए । पानी नपरेको अवस्थामा मकैको बिरुवालाई फौजी किराले आक्रमण गरेको हो । खुटामा पछौटे मकैको बिरुवा भर्खर गोडमेल गर्ने अवस्थामा पुग्दै छ । पछौटे मकैलाई पनि फौजी किराले आक्रमण गर्नेमा किसान चिन्तित छन् ।

    जैविक विषादिका रुपमा गाईवस्तुको पिसाव पानीमा घोलेर हाल्दा समेत फौजी किरा नियन्त्रणमा आउन सकेको छैन । फौजी किराले एकपल्ट चोट पारिसकेको मकैको बिरुवा नबढ्ने र कक्रक्क पर्ने हुँदा उत्पादन शुन्य हुने गरेको छ ।

    खुटामा विगतका वर्ष फाट्टफुट्ट मात्रामा देखिने गरेको फौजी किरा गत वर्षदेखि प्रकोपका रुपमा फैलिन थालेको हो । वत वर्ष गाउँपालिकाले उपलव्ध गराएको विषादि हालेपछि केही मात्रामा फौजी किरा नियन्त्रणमा आएको थियो । तर, यस वर्ष भने विषादि वितरण नभएको खड्काले बताए । चिसापानीका अन्य ठाउँमा लगाइएका मकैमा पनि फौजी किराको प्रकोप देखिएको छ । फौजी किराको आक्रमणका कारण मकैको उत्पादन घट्नेमा किसान चिन्तित छन् ।

    ‘जन्तेढुंगा गाउँपालिकाभित्रका किसानले समयमा पानी नपरेकाले बारीमा मकै छर्न पाएनन् भने केही खेतमा छरेका मकै किराले स्वाहा पारेको छ,’ कांग्रेसका जन्तेढुंगा गाउँपालिका समिति उपसभापति बाजिन्द्र बिष्टले फेसबुकमा लेखेका छन्, ‘मलाई त लाग्छ किसानले यो गाउँपालिकामा कुनै राहत पाएर ढुक्क हुने दिन आउने रहेनछ ।

    छ त जन्तेढुंगामा कृषक बाच्ने स्थिति ?’ फौजी किराको आतंक जिल्लाका १० वटै स्थानीय तहमा देखिएको छ । जिल्लामा मकै बाली प्रमुख खाद्यान्न बालीका रुपमा लगाउने गरिन्छ ।

    सम्बन्धित समाचार