बिहिवार, जेठ १३ २०७८
नेपाल वाइड
खोटाङ । जेठ १३, खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन सुरु गरिएको छ । खोटाङलाई पुर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज खोल्न सुरु गरिएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा बेलिब्रिज राख्ने, हटाउने र सामान स्टोर गर्ने ठेक्का लिएको रेग्मी निर्माण सेवा गाईघाटले करिब हप्ता/दश दिनमा बेलिब्रिज हटाइसक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउनु भयो ।
१०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने ५० मिटर लम्बाई भएको बेलिब्रिज हटाइएसँगै कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द हुने छ ।
फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।
म्याद गुज्रेको वर्षौँ बित्दा समेत पक्की पुल निर्माणको काम पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको वार्षिक करोडौं खर्च भइरहेको छ ।