Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘ठूलो मेसिन लाएर बाटो खन्छौँ, माटो ढुंगा बगेर जान्छ, विनास निम्तिन्छ’

    ‘ठूलो मेसिन लाएर बाटो खन्छौँ, माटो ढुंगा बगेर जान्छ, विनास निम्तिन्छ’


    • बिहिवार, आषाढ ३ २०७८

    • नेपाल वाइड


    ‘ठूलो मेसिन लाएर बाटो खन्छौँ, माटो ढुंगा बगेर जान्छ, विनास निम्तिन्छ’
    उपमेयर बिमला राई

    खोटाङ । असार ३, अहिले जताततै सडक बनाउने नाममा बजेट खन्याउने होड चलेको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार अन्तरगतको बजेट जथाभावी सडक बनाउनमा खर्च गर्ने गरिएको छ ।

    सडकको छोटो–छोटो घुम्तीले पहाडका भीरपाखा छिया–छिया बनेको किरिङमिरिङ दृश्या जताततै देख्न सकिन्छ । अधिकांश सडक निर्माणमा न वातावरणमैत्री विधि अपनाइन्छ न त प्राविधिक डिजाईन अनुसार नै काम गरिन्छ । जथाभावी सडक बनाउने होड चल्दा पहाड बिनास भइरहेको छ ।

    यसै सन्दर्भमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले पहाडको भविष्य नै संकटमा पार्ने सडक विस्तारको कटाक्ष गरेकी छन् । ठूला मेसिन प्रयोग गरेर जथाभावी सडक खन्दा वर्षेनी ढुंगा माटो बगेर जाँदा प्राकृतिक विपत्ती निम्तिरहेको उपमेयर राईले बुधबार सामाजिक सञ्जालमा लेखेकी छन् ।

    उपमेयर राईले सिन्धुपाल्चोक लगायतका ठाउँमा गएको बाढी पहिरोको सन्दर्भ उल्लेख गर्दै कतिपय अवस्थामा विकासको नाममा मानवबाट बिनास निम्त्याउने क्रियाकलाप भइरहेको उल्लेख गरेकी छन् ।

    हाल कोरोना कहरका बिचमा हरेक स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट बनाइरहेको बेला उपमेयर राईको जथाभावी सडक निर्माणले विनास निम्त्याउने धारणा आएको हो ।

    ‘हामी मानवजाती अनि जिम्मेवार ब्यक्ति, संस्था र सरकारको काम गर्न ढंग पुग्दैन । कतिपय अबस्थामा बिकास हैन बिनास नै निम्तिने क्रियाकलाप गर्छौँ, अनि प्रकृतीलाई गाली गर्छौं,’ उपमेयर राईले लेखेकी छन्, ‘सडकको नाममा बाटो खन्छौँ, ठूलो मेसिन लाउछौँ, भएको माटो ढुंगा बगेर जान्छ ।

    अहिले त स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार हुँदाहुँदै संसदीय कोषबाट पनि यही बाटोमा पैसा ओइराउने चलन बसेको छ । सजिलो छ बाटो खन्न । भरपर्दो प्राबिधिक डिजाइन हुन्न, वातावरण मैत्री सडक हुन्न अनि कहिले सुख्खा पहिरो, कहिले हिले पहिरो जान्छ, अनि गनगन शुरु हुन्छ । फेरी त्यही बाटोमा योजना पर्छ एवं रितले बिकास हुने गरेको छ ।’

    उपमेयर राईले ‘हरियो वन नेपालको धन’को नारा बोकेको नेपालको वन मन्त्रालयदेखि इलाका वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ, भू–संरक्षण कार्यालयको भूमीका माथि प्रश्न गरेका छन् । ‘ईलाका वन कार्यलय रे, उनले के गर्छ बझ्नै गार्‍हो छ । सामुदायिक बन महासंघले उपभोक्ता हितको कुरा गजवको उठाउने गर्छ तर फिल्डमा काम गरेको देखिन्न ।

    यसको चुनाव पार्टीको भन्दा कम हुन्न । भू–संरक्षण कार्यालय सय थान जाली बाडेर हात बाँधेर बस्छ,’ उपमेयर राईले कटाक्ष गर्दै लेखेकी छन्, ‘कसैगर्दा भएन गाली त तिमी प्रकृतिलाई नै हो ।

    खबरदार चाहिने मात्र पानी पार नत्र बाटो बग्छ, ढुंगा झरेर क्षती हुन्छ, अनि फेरि योजना बनाउन बाध्य होइन्छ । धर्ती नखन्ने खाल्को बजेट बनाउनुमा तिम्रो भुमिका छ ।’

    सम्बन्धित समाचार