मंगलवार, आषाढ ८ २०७८
नेपाल वाइड
खोटाङ । असार ८, खोटाङमा समय नपुग्दै सुत्केरी व्याथा लागेकी महिलालाई हेलीकोप्टरमार्फत उद्धार गरेर अस्पताल पुर्याइएको छ । गर्भवती भएको आठ महिनामै सुत्केरी व्याथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्याइएको हो ।
सामान्यतः नौ महिनाभन्दा अघि नै जन्मिएका नवजात शिशुको फोक्सो परिपक्व भइसकेको नहुने र एनआइसियूमा राख्नुपर्ने हुनाले कट्वाललाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकोप्टरबाट काठ्माण्डौं पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर बैभव मल्लिकले बताए ।
सुत्केरी व्याथा लागेकी महिलालाई गाडीमार्फत पठाउँदा र बाटैमा बच्चा जन्मेको अवस्थामा आमा र बच्चाको स्वास्थ्य जटिल खतरा देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको हो ।
आमा र नवजात शिशुको उद्धारका लागि जिल्ला अस्पतालले प्रशासनलाई पत्राचार गरेपछि प्रशासनमार्फत सेनाको हेलीकोप्टर झिकाइएको हो । सोमबार राती ११ बजेदेखि सुत्केरी व्याथा लागेपछि महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले प्रयोग गर्दै आएको गाडीमार्फत रातारात जिल्ला अस्पतालमा पुर्याइएको थियो ।
सुत्केरी व्याथाले च्यापेकी महिलाको उद्धारका लागि रातको २ बजेर ६ मिनेट जाँदा खबर आएपछि उद्धारमा गाडी पठाइएको मेयर रिजालले बताएका छन् । ‘राती २ बजेर ६ मिनेट जाँदा एउटा फोन आयो, सिकिस्त बिरामी शान्ता कट्वालको उद्धारका लागि । मैले तुरुन्तै गाडी पठाएँ । डाक्टरले बच्चाको लागि एनआइसियुमा राख्न मिल्ने हस्पिटल लैजाने सल्लाह दिनुभयो,’ मेयर रिजालले भने, ‘मौसमका कारण थोरै ढिलै भएपनि राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत बिहानको ७ः४० तिर बिरामीलाई काठमाडौं उडाउन सकियो ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हालसम्म जिल्लाका नौ महिलाको उद्धार गरिएको श्रोतले जनाएको छ ।