मंगलवार, आषाढ ८ २०७८
नेपाल वाइड
खोटाङ । असार ८, खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट एक संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
संक्रमितलाई थप उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा २ लाख ९५ हजारमा हेलीकोप्टर चार्टर गरिएको हो । खोटाङमा कोभिड–१९ को संक्रमण पूष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्याउनका लागि लाखौंमा हेलीकोप्टर चार्टर हुने गरेको छ ।
बिरामी बोक्न एम्बूलेन्स वा गाडीको विकल्पमा संक्रमति महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य बनेका छन् । जेठ ५ गते यता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि ६ पटक हेलीकोप्टर चार्टर भइसकेका छन् ।