शनिवार, आषाढ १२ २०७८
नेपाल वाइड
खोटाङ । असार १२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई लोकल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले नगरसभामार्फत स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो ।
यस्तै, नगरपालिकाबाट राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशन हुने सूचना तथा विज्ञापन प्रकाशनका लागि नगर वा जिल्लाभित्रका विज्ञापन एजेन्सिलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । हालसम्म स्थानीय तहको सूचना तथा विज्ञापन कमिसनमा कर्मचारी वा स्वयं जनप्रतिनिले नै एजेन्सीमार्फत प्रकाशन गर्ने गरेका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये लोककल्याणकारी विज्ञापन तथा सूचना प्रकाशनका लागि जिल्लाकै मिडियालाई उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याउनमा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी मात्र अग्रसर देखिएका छन् ।
स्थानीय तहको सार्वजनिक महत्वका सूचना प्रकाशन गरेवापत नियमित भुक्तानी लिन कठिनाइ झेलिरहेका पत्रकारलाई दुई नगरपालिकाको नीति तथा कार्यक्रमले केही उत्साहित बनाएको छ । यद्यपी, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा नल्याएसम्म पत्रकारले उत्साहित हुनपर्ने अवस्था नभएको बरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपाल पत्रकार महासंघ खोटाङ शाखाको पक्की भवन निर्माणका लागि संघ, प्रदेश सरकार र सम्बन्धित निकायमा पहल गरी निर्माण सुरु गर्ने, पत्रकार महासंघको व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने, ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रमलाई निरन्तरता दिने, नगरपालिकाको अनुगमन टोलीमा पत्रकारलाई सहभागी गराउने, जिल्लामा कृयासिल मिडिया हाउसको प्रबद्र्धन गर्ने र पत्रकारको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्रका न्यून आय भएका पत्रकारिता लगायत अन्य विषयमा पिएचडि गर्ने विद्यार्थीलाई छात्रबृत्ति उपलव्ध गराउने, नेपाल पत्रकार महासंघसँगको समन्वयमा स्थानीय स्तरमा पत्रकारिता तालिम सञ्चालन गर्ने, ‘राम्रो हलेसी, हाम्रो हलेसी’ रेडियो कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याइएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रमलाई नै दिप्रुङले निरन्तरता दिएको हो ।
चालु आर्थिक वर्षभित्रै मापदण्ड पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता उपलव्ध गराउन सुरु गरिने दिप्रुङ चुईचुम्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सो मापदण्ड अनुसार जिल्लाका बरिष्ठ पत्रकार कृष्ण आचार्यले मात्र प्रोत्साहन भत्ता पाउने छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने गरी ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयनमा भने दिप्रुङ चुईचुम्मा गाउँपालिका चुकेको छ ।
जसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको पत्रकार रिझाउने नीति तथा कार्यक्रम पनि ‘फासफुस’ हुने आशंका पत्रकारबिचमा हुन थालेको छ ।