Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    पञ्चायती व्यवस्था विरुद्ध लड्न ‘सेल्टर’ दिने झिमामायाँ गुरुङको निधन

    पञ्चायती व्यवस्था विरुद्ध लड्न ‘सेल्टर’ दिने झिमामायाँ गुरुङको निधन


    • शुक्रवार, आषाढ १८ २०७८

    • नेपाल वाइड


    पञ्चायती व्यवस्था विरुद्ध लड्न ‘सेल्टर’ दिने झिमामायाँ गुरुङको निधन
    पञ्चायत विरुद्धको आन्दोलनमा लागेका नेतालाई सेल्टर दिएकी झिमामायाँ गुरुङ ।

    खोटाङ । असार १८, भूमीगत बनेर पञ्चायती व्यवस्था विरुद्ध लड्ने योद्धालाई ‘सेल्टर’ दिएर सहयोग गर्ने खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर चापखर्ककी झिमामायाँ गुरुङको निधन भएको छ ।

    पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा होमिएका भूमीगत आन्दोलनकर्मीलाई सरकारी सुरक्षा निकायबाट छलिएर सहयोग गरेकी गुरुङको १०० वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत १९७८ सालमा जन्मिएकी झिमामायाँको शुक्रबार बिहान ११.५० बजे घरैमा निधन भएको छोरा मोहन गुरुङले बताए ।

    तीन दिन अघिदेखि उनी पेट पोल्ने समस्याबाट ग्रसित भएकी थिईन् । जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सेल्टर दिँदै पञ्चायती व्यवस्था विरुद्ध लड्न हौस्याउने झिमामायाँलाई त्यो बेला भूमीगत जीवन विताएका वामपन्थी नेताले ‘सेल्टरदाता’ मान्दैआएका छन् ।

    प्रशासन र प्रहरीले निगरानीमा राखेका र खोजीगरिरहेका नेता तथा कार्यकर्तालाई त्यो बेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् ।

    लेखपढ नभए पनि सामाजिक रुपान्तरणका सवालमा मरिमेट्ने गुरुङलाई वामपन्थी नेताले ‘आदर्श पात्र’का रुपमा सम्मान दर्शाउने गरेका छन् । विशेषगरी शासक र शासनका विरुद्धमा असहमती जनाउँदै भूमीगत बनेका जिल्लाका राजकुमार अथक, रमेश राई, बाबुराम राई, बबी चामलीङ लगायतका वामपन्थी नेतालाई उनले मतानमा मकैको खोस्टामा लुकाएर सहयोग गरेकी थिईन् ।

    तत्कालिन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्ता कोही नपुग्ने भएकाले पनि भूमीगत नेताले २०३९ सालताका गुरुङको घरलाई सेल्टर बनाएका थिए । उनीहरुमध्ये बबी चामलीङ हाल एमाले नेता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख छन् । रमेश राई जनता समाजबादीका केन्द्रिय स्तरका नेता छन् ।

    झिमामायाँ सानैदेखि क्रान्तीकारी स्वभावकी थिईन् । व्यवस्था विरुद्धमा लडेका नेतालाई उनले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे । सुरक्षित आश्रयका कारण भूमीगत नेताले उनको घरमा दस्तावेज, माओत्सेतुङ, काल माक्र्स लगायतका कम्यूनिष्ट नेता सम्वन्धी पुस्तकहरु लुकाएर राख्ने गरेका थिए ।

    प्रहरी आउने थाहा भए त्योभन्दा अगाडि नै पुस्तक जलाइदिनु भनेर हिँड्थे । त्यस्ता पुस्तक प्रहरीले भेटेको भए झिमामायाँको सर्वस्वहरण हुनसक्थ्यो, जेलमा हालिन्थ्यो या गोली नै हानिन्थ्यो । सुरक्षित सेल्टरकै कारण २०४२ सालमा अखिल एकता पाँचौंको पाँचौं जिल्ला सम्मेलन हौंचुरपोखरीमा गरिएको थियो । इन्द्रेणीपोखरीमा गर्ने भनिएको सम्मेलन प्रशासनले चाल पाएपछि रातारात झुक्याएर हौंचुरपोखरीमा सारिएको छोरा मोहन गुरुङ वताउँछन् ।

    समाजको क्रान्तीकारी रुपान्तरणका लागि महिला मुक्ती आन्दोलनमा उठेका सबै खाले अभियानमा आफुलाई समाहित गर्दै निरंकुसता विरोधी क्रान्तीकारी योद्धालाई आश्रय स्थल उपलव्ध गराएर महिला आन्दोलनमार्फत देश र जनताको पक्षमा पुर्‍याएको योगदानको मूल्यांकन गरी झिमामायाँलाई एमाले निकट अखिल नेपाल महिला संघले ६५ औं स्थापना दिवसको अवशर पारेर २०७३ साल फागुन २४ गते अभिनन्दन गरेको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध भूमीगत नेतालाई हौसना स्वरुप संरक्षण दिएकी उनी बुढेसकालमा पनि सक्रिया रहिन् ।

    पञ्चायतकालिन नेता बिरेन्द्रकेसरी पोखरेल, पर्शुराम राई, दिपबहादुर राई, रत्न राई, केदार राईदेखि हालका एमाले नेता पर्शुराम कार्की, बिशाल भट्टराई (हाल प्रतिनिधिसभा सदस्य) लगायतसँग उनी परिचित थिईन् ।

    उनका छोरा मोहन पनि वामपन्थी राजनिती हुँदै हाल जनता समाजवादीको राजनितीमा क्रियासिल छन् । मुलुकमा बेला–बेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रबृत्तिमा कुनै परिवर्तन नआएको झिमामायाँको दुखेसो थियो ।

    सम्बन्धित समाचार