शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
खोटाङ । असार १९, वर्षाका कारण खोटाङमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । केही दिनदेखि परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको विभिन्न स्थानमा पहिरो खसेको हो । शनिबार खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको छ ।
हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो शनिवार जेसिभि लगेर पन्छाइए पनि कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा शनिबार ठूलो पहिरो खसेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रशासनको पास लिएर यात्रा गरिरहेका यात्रु समस्यामा परेका छन् ।
‘नगरपालिकाकै जेसिभि लगेर हलेसीदेखि बयाक्तासम्मको चार स्थानमा खसेको पहिरो पन्छाइयो,’ मेयर राईले भने, ‘पुःन कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा पहिरो खसेको छ । पहिरो पन्छाउनका लागि जेसिभि पठाएका छौँ ।’
सडकमा खसेको पहिरो पन्छाउनका लागि वडा कार्यालय बाहुनीडाँडातर्फबाट घुमाएर जेसिभि पठाइएको जनाइएको छ । अवरुद्ध सडक खुलाउनका लागि केही समय लाग्ने नगरपालिकाले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग सडक विभाग मातहतको भए पनि वर्षाकाबेला सो सडकमा खसेको पहिरो पन्छाउन विभागले बेवास्ता गर्ने गर्दा नगरपालिकाले हेरचाह गर्नुपरिरहेको मेयर राईले बताए । राष्ट्रिय राजमार्गमा खसेको पहिरो पन्छाउने काममा विभागको उपस्थिति नहुँदा हरेक वर्षा याममा नगरपालिकाले पहिरो पन्छाउँदै आएको छ ।