शनिवार, आषाढ १९ २०७८
नेपाल वाइड
मनाङ । प्रतिबन्धित वन लसुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–५, गुम्दा घर भई हाल मनाङको चामे गाउँपालिका–३, खितीपुर बस्ने ४५ वर्षीय कान्छा भनिने माइला गुरुङ र धार्चे–७, लापु घर भई हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिब ३० किलो प्रतिबन्धित वन लसुनसहित पक्राउ गरेको जानकारी दिए । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनीहरुले नार्पाभूमिको नारगाउँका कृषकहरुबाट प्रतिकेजी चार हजार रुपैयाँको दरले किनेर ल्याएको उनले बताए ।
बरामद गरिएको वन लसुन नासोँ गाउँपालिका–५, थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ, लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ ।
उच्च पहाडी क्षेत्रको दुई हजार ५०० देखि पाँच हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा संकलन सकिएपछि जेठ, असारमा संकलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ । रासस