Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्वास्थ्य

    मानसिक सन्तुलन गुमाएका तामाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट फर्किए घर

    मानसिक सन्तुलन गुमाएका तामाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट फर्किए घर


    • बुधवार, आषाढ ३० २०७८

    • नेपाल वाइड


    मानसिक सन्तुलन गुमाएका तामाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट फर्किए घर
    होस फर्किएपछि अस्पतालबाट घर फर्किएका मनोज तामाङ आफन्तको माझमा ।

    खोटाङ । असार ३०, चार वर्षअघि मानसिक सन्तुलन गुमाएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मनोज तामाङ उपचारपछि घर फर्किएका छन् । आफन्त तथा शुभेच्छुकको आर्थिक सहयोगमा गत चैत १७ गते टिचिङ अस्पताल काठ्माण्डौं लगिएका २४ वर्षीय तामाङको स्वास्थ्यमा सुधार आएपछि घर फर्काइएको हो ।

    निरन्तरको उपचारका क्रममा करिब दुई महिनापछि मनोजको होस खुलेको बुवा बाबुराम तामाङले बताए । ‘विरामी भएपछि दोहोरो कुराकानी हुँदैनथ्यो । एउटा कुरा सोध्दा अर्कै कुरा गर्थे । बोलीको ठेगान हुन्नथ्यो,’ बाबुरामले भने, ‘पूर्ण रुपमा निको हुन बाँकी छ तर होस् खुलेको छ ।

    दोहोरो कुरा हुन्छ, दोहोरो वात गर्न सक्ने भएको छ । पूर्ण निको हुने आशा छ ।’ हाल मनोजले औषधि सेवन गरिरहेका छन् । उनलाई अस्पतालले दुई महिनापछि फलोअपमा बोलाएको छ । टिचिङ अस्पतालमा तामाङको उपचारको क्रममा दुई/तीन लाखको हाराहारीमा खर्च भएको तामाङ परिवारले बताएका छन् ।

    कोभिड–१९ को महामारीका कारण गत वर्ष लकडाउन हुँदा नियमित औषधि सेवन गर्न नपाएपछि मनोजको स्वास्थ्यमा थप जटिल समस्या निम्तिएपछि युवा नेता बाजिन्द्र बिष्टको पहलमा सहयोग जुटाएर पुःन अस्पताल लगिएको थियो ।

    मनोजको उपचारको क्रममा कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप–सभापति बिष्टको पहलमा ६७ हजार ५०० आर्थिक सहयोग रकम जुटे लगत्तै मनोजलाई अस्पतालतर्फ हिँडाइएको थियो । उनको उपकारका लागि बिष्टको प्रयासमा स्वदेश तथा विदेशमा रहेका दाताबाट एक लाख ५३ हजार रुपैयाँ सहयोग जुटेको थियो ।

    विष्टकै समन्वयमा एनआरएनए महिला फोरम जर्मनीकी संयोजक करुणा तुलाधर राईले ४२ हजार सहयोग पठाएकी छन् । करुणाले पठाएकामध्ये तामाङलाई ३२ हजार र चिसापानीकै क्यान्सरबाट पिडित तारानाथ अधिकारीलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको बिष्टले बताए । ‘अहिले मनोजको अवस्था राम्रो देखिएको छ, मंगलबार भेटघाट गर्न जाँदा उसले चिन्यो, गफगााफ भयो,’ बिष्टले भने, ‘पूर्णरुपमा ठीक भएको छैन तर हेर्दा क्रमशः सुधार भइरहेको देख्न सकिन्छ ।’

    चार वर्षअघि मनोज २० वर्षका थिए । एसएलसि दिएपछि अढाइ महिनाका लागि दिल्ली गए । दिल्लीबाट घर फर्किएको १५ दिनपछि सुतेकोबेला राती १२ बजे उनी एक्कासी ‘के आयो–के आयो’ भन्दै कराउँदै कुद्न थाले । त्यही रातबाट उनले आफ्नो मानसिक सन्तुलन गुमाएका हुन् । कतिपयलाई आक्रमण नै गर्न थालेपछि उनलाई बाँधेर समेत राखिएको थियो ।

    स्वास्थ्यमा समस्य आए लगत्तै मनोजलाई धरान, काठ्माण्डौं, विराटनगर लगायतका अस्पतालमा कुदाइए तर स्वास्थ्यमा सुधार आएन । धामीझाँक्री र माताकोमा लैजाँदा उत्तिकै खर्च भएको बाबुराम बताउँछन् ।

    उपचारको नाममा आठ लाख खर्च हुँदा पनि मनोजको स्वास्थ्यमा सुधार आएन । उपचारकैक्रममा परिवार ऋणमा चुर्लुम्म डुबेपछि हार खाएका बाबुरामले मनोजलाई घरमा ल्याएर राखेका थिए । परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तान हुन् ।

    विभिन्न अस्पताल चाहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा बिरामी छोरालाई घर फर्काएका बाबुराम तामाङले बिष्टलाई सहयोगका लागि गुहारेका थिए । बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पिडित भएका मनोजको भिडियो खिचेर देश विदेशका दातामाझ सहयोग अभियान चलाएका थिए ।

    सम्बन्धित समाचार