Logo
  • बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • images
    images
    स्वास्थ्य

    उद्धारको हेलीकोप्टर आइनपुग्दै बच्चा जन्मिएपछि ...

    उद्धारको हेलीकोप्टर आइनपुग्दै बच्चा जन्मिएपछि ...


    • बिहिवार, श्रावण ७ २०७८

    • नेपाल वाइड


    उद्धारको हेलीकोप्टर आइनपुग्दै बच्चा जन्मिएपछि ...
    गर्भवती महिला लैजान दिक्तेलको हेलीप्याडमा ल्याण्ड गरिएको सेनाको हेलीकोप्टर ।

    खोटाङ । साउन ७, खोटाङमा समय अगावै सुत्केरी व्याथा लागेको महिलालाई उद्धार गर्न आएको नेपाली सेनाको हेलीकोप्टर एक रात रोकिएर रित्तै फर्किएको छ ।

    समयभन्दा अगावै सुत्केरी व्याथा लागेपछि जिल्ला अस्पतालमा भर्ना भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी १९ वर्षीय सिर्जना बिकको उद्धारका लागि बुधबार आएको नेपाली सेनाको हेलीकोप्टर बिहिबार बिहान फर्किएको हो ।

    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत झिकाइएको नेपाली सेनाको हेलीकोप्टर दिक्तेल आउँदाआउँदै बच्चा जन्मिएपछि सुत्केरीबिनै हेलीकोप्टर फर्किएको हो ।

    जिल्ला अस्पतालमै बच्चा जन्मिएको तथा खराब मौसमका कारण एक रात दिक्तेलमै रोकिएको सेनाको हेलीकोप्टर बिहिबार बिहान फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले बताईन् ।

    ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा ३४ हप्तामै सुत्केरी व्याथा लागेपछि आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबार, काठ्माण्डौंमार्फत सेनाको हेलीकोप्टर झिकाएको थियो ।

    जिल्ला अस्पताल खोटाङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बैभव मल्लिकका अनुसार सामान्यतः नौ महिना नपुग्दै जन्मिएका नवजात शिशुको फोक्सो परिपक्व भइसकेको नहुने र एनआइसियूमा राख्नुपर्ने हुनाले सिर्जनालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी बिराटनगर लैजाने तयारी गरिएको थियो ।

    ‘समय अगावै जन्मिएको बच्चाको शारीरिक अवस्था परिपक्व भइसकेको हुँदैन । त्यस्तो बच्चा जन्माउनु ठूलो कुरो होईन, केयर गर्नु ठूलो कुरा हुन्छ । तर, हेलीकोप्टर आइनपुग्दै बच्चा जन्मिएकाले अन्यत्र पठाइरहन परेन,’ मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मल्लिकले भने, ‘बच्चा र आमाको स्वास्थ्य अवस्था पनि सामान्य छ ।

    अन्यत्रका अस्पतालमा पठाउनुपर्ने अवस्था देखिएन । अव अस्पतालबाट चाँडै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।’ हेलीकोप्टर आउँदाआउँदै सुत्केरी भएपछि मष्तिष्कमा संक्रमण भएका तीन वर्षका बालकलाई पठाइएको जिल्ला अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार