मंगलवार, कार्तिक १८ २०८३
नेपाल वाइड
खोटाङ, १७ कात्तिक । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीले ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३’ को उपाधि जितेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित सोल्मा स्पोट्र्स क्लबको खेलमैदानमा मंगलबार भएको फाइनलमा इन्द्रेणीपोखरीले साकेला गाउँपालिका–५ को मात्तिमलाई ३–० गोल अन्तरले हराउदै उपाधि जितेको हो ।
सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको इन्द्रेणीपोखरीले मात्तिमलाई दबाबमा राख्दै तीन गोल गरेको थियो । खेल अवधिभर मात्तिमले कुनै गोल फर्काउन सकेन ।
उपाधि जित्ने इन्द्रेणीपोखरीले ट्रफी, मेडल र प्रमाणपत्रसहित १ लाख २२ हजार २२२ रुपैयाँ प्रदान गरिएको क्लब अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिए ।
उप–विजेता मात्तिमले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका दिक्तेल रुपाकोट मझुवागढी–११ को खार्मी र वडानम्बर–५ को लफ्याङले प्रतिटिम ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन् । व्यक्तिगत पुरस्कारमा नेर्पाका एञ्जल राई उदीयमान खेलाडी बनेका छन् ।
इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सविन भुजेल उत्कृष्ट डिफेन्डर, विकास राई उत्कृष्ट प्रशिक्षक र विजय राई उत्कृष्ट खेलाडी चयन भएका छन् ।
मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर र साहेल राई सर्वाधिक गोलकर्ता बनेका छन् । उत्कृष्ट खेलाडीले ५ हजार ५५५ रुपैयाँ र अन्य पुरस्कृतले २ हजार २२२ रुपैयाँ प्राप्त गरेका छन् ।
नगरप्रमुख तीर्थराज भट्टराईले विजेता टोली र खेलाडीलाई पुरस्कार वितरण गरे । कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता जनाएको क्लवले जनाएको छ ।
प्रतियोगिताको अवसरमा कात्तिक १५ गते बृहत् साँगीतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले उद्घाटन गरेको कार्यक्रममा गायिका रचना रिमाल लगायतका राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।
वि.सं. २०७० मा खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादनको उद्देश्यले स्थापना भएको सोल्मा स्पोट्र्स क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता गर्दै आएको छ । जग्गा खरिद गरेर क्लबले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आफ्नै खेलमैदान निर्माण गरि फुटवल खेलको आयोजना गर्दै आएको छ ।