शनिवार, श्रावण ९ २०७८
नेपाल वाइड
खोटाङ । साउन ९, खोटाङमा प्रहरीले सार्वजनिक विदाका दिन बिना पास चलाइएका गाउँपालिकाको स्कार्पियो र वडा कार्यालयको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
शनिबारका दिन विना पास चलाइएका धनपाल गाउँपालिकाको कार्यालय मोरङको को १ झ ५४१ नम्बरको स्कार्पियो, महाकुलुङ गाउँपालिकाको कार्यालय सोलुखुम्बुको प्रदेश नम्बर १–००२–००१ ब ३१०९ नम्बरको मोटरसाईकल र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालय खोटाङको प्रदेश नम्बर १–००५–००१ ब ११०१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सार्वजनिक विदाका दिन गाउँपालिका र वडा कार्यालयको सवारी साधन बिना पास चलाएर दुरुपयोग गरेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।
विदाका दिन दुरुपयोग भइरहेको सवारी साधनलाई ईलाका प्रहरी कार्यालय हलेसी तथा हलेसी ट्राफिक प्रहरीबाट खटिएका प्रहरी टोलीले फेला पारेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सवारी साधनलाई आगामी दिनमा दुरुपयोग नगर्ने शर्तमा छाडिएको प्रहरीले जनाएको छ । जिल्लामा बेला–बेला सार्वजनिक विदाका दिन पनि बिना पास सरकारी सवारी साधन चलाउने गरेको गुनासो आउने गरेको छ ।
प्रहरीले गत साउन २ गते बिना पास चलाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको, लोकसेवा आयोग शाखा कार्यालय खोटाङको प्र ३–२–१ ब १५३० नम्बरको, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय खोटाङको बा २ ब ७९७० नम्बरको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको बा २ ब ८१९३ नम्बरको मोटरसाईकल नित्रयन्त्रणमा लिएको थियो ।