मंगलवार, श्रावण १२ २०७८
नेपाल वाइड
खोटाङ । साउन १२, जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले सवारी नियम उल्लंघन गर्ने व्यक्तिबाट पछिल्लो एक आर्थिक वर्ष २७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सवारी नियम उल्लंघन गर्ने दुई पाङग्रे र चार पाङग्रे सवारी साधनका चालकलाई कारवाही गरेर ट्राफिक प्रहरी कार्यालयले २७ लाख ७६ हजार राजस्व संकलन गरेको हो ।
सो आर्थिक वर्ष ४ हजार ३ सय वटा सवारी साधनलाई कारवाही गर्दा २७ लाखभन्दा बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख तिलक पौडेलले बताए । ट्राफिक प्रहरीका अनुसार सवारी नियम उल्लंघन गर्ने मोटरसाईकल चालकबाट मात्र १० लाख ७२ हजार राजस्व संकलन भएको छ ।
यस्तै, सवारी नियम उल्लंघन गर्ने ट्रक चालकबाट ६ लाख ६१ हजार, ट्याक्टरबाट २ लाख ३७ हजार, बसबाट ६९ हजार ५ सय, जिप, कार र भेनबाट ५९ हजार ५ सय, ट्रिफरबाट ५० हजार, अटो टेम्पोबाट ६४ हजार र अन्य सवारी चालकबाट २७ हजार ५ सय राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । संकलित राजस्व जिल्ला प्रहरी कार्यालयको बैंक खातामार्फत विभागमा जम्मा गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पौडेलले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घट्नामा १४ जनाले ज्यान गुमाएका छन् । ३ वटा बस, ६ वटा जिप/कार, ११ वटा ट्याक्टर, ३ वटा टेम्पो र ९ वटा मोटरसाईकल दुर्घट्ना हुँदा ११ जना पुरुष, २ जना महिला र १ जना बालकको सवारी दुर्घट्नामा मृत्यु भएको हो ।
सो दुर्घटनामा १६ जना पुरुष, १८ जना महिला र २ जना बालक गरी ३६ जना गम्भीर घाईते तथा ३४ जना साधरण घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले सार्वजनिक विदाका दिन विना पास चलाएका सवारी साधनमाथि पनि निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको आफ्नै कार्यालय भवन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको छ । अन्य कार्यालयको झैं ट्राफिक प्रहरीको कार्यालय हुनुपर्ने भए पनि खोटाङमा ट्राफिक प्रहरीको कार्यालय नहुँदा सेवा प्रवाह कठिन भएको हो ।
आफ्नो कार्यालय नहुँदा सामुदायिक सेवा प्रहरी केन्द्रसँग सहकार्य गरेर दिक्तेलको किरातचोक (रत्नपार्क)मा भाडाको घरबाट दुःखजिलो कार्यालयीय काम गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पौडेलले बताए । ‘ट्राफिक प्रहरीको आफ्नै भवन हुनुपर्छ, प्रशस्त पार्किङको व्यवस्था हुनुपर्छ ।
आफ्नै कार्यालय नहुँदा सवारी कारवाही प्रक्रिया प्रभावित भईरहेको छ,’ ट्राफिक प्रहरी प्रमुख पौडेलले भने, ‘कतिपय गम्भीर प्रकृतिका दुर्घट्नाका सम्वन्धित व्यक्तिलाई राखेर सोधपुछ तथा आवश्यक कारवाही गर्नुपर्ने हुन्छ तर, व्यवस्थितकार्यालय र सवारी साधन राख्ने ठाउँ नहुँदा त्यतिकै छाड्नुपर्ने अवस्था छ ।’