Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कोरोना हिरोलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

    कोरोना हिरोलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’


    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    कोरोना हिरोलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’
    शहीद मनोज जोशी प्रतिभा पुरस्कार ग्रहण गरेपछि ल्याब टेक्नेसियन शेखर अधिकारी (दाँया) र सवारी चालक युवराज गुरुङ ‘काजी’ ।

    खोटाङ । साउन १५, खोटाङमा कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रणी भूमीका खेल्ने स्वास्थ्यकर्मी र चालकलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा आफ्नो ज्यान जोखिममा राखेर सेवा गर्ने जिल्ला अस्पताल खोटाङका ल्याब टेक्नेसियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।

    शहीद मनोज स्मृति दिवसको अवशरमा शुक्रबार दिक्तेल अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा ल्याव टेक्नेसियन अधिकारी र चालक गुरुङलाई जनही पाँच हजार राशीको पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

    बिगतका वर्ष मनोजमार्ग सरसफाई, अस्पतालका बिरामीलाई फलफुल वितरण, व्याटमिन्टन, चेस, कविता, गजल र हाजिरीजवाफ प्रतियोगीता लगायतका कार्यक्रम गर्दै मनोज जोशी स्मृति दिवस मनाउने गरिएकामा यसपल्ट कोभिड–१९ का कारण समाधिमा माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रम मात्र आयोजना गरिएको मनोज स्मृति प्रतिष्ठानले जनाएको छ ।

    २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

    तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

    बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।

    त्यो बेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

    सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।

    दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो । वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए ।

    यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए । जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।

    सम्बन्धित समाचार