बुधवार, श्रावण २७ २०७८
नेपाल वाइड
खोटाङ । साउन २७, खोटाङको दिक्तेलबजारमा अखाद्यवस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । दिक्तेलबजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँसिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले चासो देखाएको हो ।
क्वालिटी फुड एण्ड स्न्याक्स ईन्डस्ट्रिज प्रालि दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटको पानोमा धागो तथा प्लाष्टिकका टुक्रा टाँसिएको भेटिएको खबर स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण भएको जनाउँदै बिस्कुट उद्योग, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई उपभोक्ता अधिकार संरक्षणमा सचेत गराएको छ ।
क्वालिटी फुड एण्ड स्न्याक्स ईन्डस्ट्रिज प्रालि दुहवी सुनसरीलाई मंगलबार पत्र पठाउँदै आयोगले अखाद्यवस्तु बजारमा रहेका भए विक्रीवितरण रोकेर यथाशिघ्र जानकारी उपलव्ध गराउन निर्देशन दिएको छ ।
‘बिस्कुटमा के, कसरी अखाद्यवस्तु मिसावट भएको हो ? मिसावटबाट उपभोक्ताको स्वास्थ्यमा असर पर्छ, पर्दैन ? असर पर्न गएको अवस्थामा त्यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने हो, होईन ? पटक–पटक अखाद्यवस्तु मिसावट भइरहेको सन्दर्भमा त्यस्ता सामग्री तत्काल बजारबाट फिर्ता लिइ नष्ट गर्नेतर्फ कम्पनीको के, कस्तो कार्यक्रम छ ?,’ आयोगले भनेको छ, ‘हाल पनि अखाद्यवस्तु बजारमा रहेका भए विक्रीवितरण गर्ने कार्य तत्काल रोकेर नेपालको संविधान धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले प्रदान गरेका उपभोक्ताको मानव अधिकार संरक्षण गर्नु पर्ने हो, होईन ?

सो समेतको विवरण शिघ्र उपलव्ध गराउन मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) र राष्ट्रिय मानव अधिकार आयोग उपभोक्ताको मानव अधिकार संरक्षण तथा प्रवद्र्धन अनुगमन निर्देशिका, २०६८ बमोजिम गरिन्छ ।’
दिक्तेलबजारमा बच्चालाई खुवाउनका लागि मंगलबार बिहान किनिएको डाइजेष्टिभ बिस्कुटको पानोमा धागो टाँसिएको भेटिएको खबर सार्वजनिक भएको थियो । गत जुलाईमा उत्पादन गरिएको बिस्कुटको एउटा पानोमा बोरा सिउन प्रयोग हुने धागो टाँसिएको पाइएको उपभोक्ताले बताएका छन् ।
गत साउन १८ गतेका दिन पत्रकार भीम राईले पनि पानामा प्लाष्टिक टाँसिएको डाइजेष्टिभ बिस्कुट फेला पारेका थिए । अखाद्यवस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा आयोगका मानव अधिकार अधिकृत चिरञ्जीवी कोईरालाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई शिघ्र बजार अनुगमन गरी उत्पादक कम्पनीलाई जिम्मेवार बनाउन र सो को जानकारी उपलव्ध गराउन निर्देशन दिएका छन् ।
स्थानीय बजार अनुगमन समिति गठन गरी बजारको स्थलगत सुपरीवेक्षण तथा अनुगमन गर्ने कार्यको जिम्मेवारी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ र सोही नियमावलीको २०७६ को नियम १८ ले सम्वन्धित स्थानीय तहको भएको आयोगले जनाएको छ ।
यस्तै, नेपालको संविधानको धारा ४४ ले मौलिक हक र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ ले कानूनी अधिकारको रुपमा प्रत्येक उपभोक्तालाई गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार भएको उल्लेख गर्दै आयोगले शिघ्र कारबाही अगाडि बढाउन र उपभोक्ता अधिकार संरक्षण गर्न र उत्पादक कम्पनीलाई जिम्मेवार बनाउनका लागि आवश्यक कारबाही अघि बढाउन प्रशासनलाई निर्देशन दिएको छ ।