बिहिवार, श्रावण २८ २०७८
नेपाल वाइड
खोटाङ । साउन २८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका अम्बरबहादुर बस्नेतले हरेक महिना ५० देखि ६० रुपैयाँ हाराहारीमा विद्युतको महसुल बुझाउँदै आएका थिए ।
घरमा टिभी, फ्रिज जस्ता विद्युतीय उपकरण छैनन् । पाँच वटा वत्ती मात्र बाल्दै आएका बस्नेतको जेठ र असार महिनाको विद्युत महसुलको बील भने भने तीन हजार १०० उठेको देखाइएको छ ।
यस्तै, मिटर बक्समा उल्लेख यूनीट अनुसार सोही ठाउँका सेवाग्राही छत्रमान आले मगरको असारको बीलमा विद्युत महसुल शुल्क ६० रुपैयाँ छ । तर, अनलाईनमा महसुल इन्ट्री गर्नेक्रममा भने आले मगरको ७७२ रुपैयाँ बिल देखाएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।
विद्युतको कर्मचारीले ग्राहको घरमा पुगेर मिटर बक्स रिडिङ गरेर उठेको रकम उल्लेख गरेर एकप्रति बील सम्वन्धित गा्रहकलाई छाड्ने गरेको छ । मिटर रिडरले त्यही बिलको एकप्रति भने कार्यालयमा लगेर बुझाउने र कार्यालयले इन्ट्री गरेपछि ग्राहकले महसुल तिर्ने गरेका छन् ।
तर, अनलाईन इन्ट्री गर्नेक्रममा मिटर बक्समा उल्लेख बिलमाभन्दा बढि शुल्क देखाउने गरेको गुनासो आएको वडाध्यक्ष राउतले बताए । ‘मिटर रिडिङ गरेर दिइएको बिलमा कम शुल्क देखिन्छ तर अनलाईनबाट इन्ट्री गर्न जाँदा सोभन्दा बढी शुल्क उठेको देखायो भन्ने धेरै गुनासो आएको छ,’ वडाध्यक्ष राउतले भने, ‘सय–डेढ सय फरक पर्दा त ग्राहकले खासै वास्ता पनि गरेका छैनन् । तर स्वभाविकभन्दा बढी महसुल उठेको भनेपछि धेरैले कम्प्लेन गरिहेका छन् ।’
कतिपय मिटर रिडिङ गर्ने कर्मचारीले नै गल्ती गरेको र कतिपय विद्युत प्राधिकरणमा अनलाईन इन्ट्री गर्ने कर्मचारीले कमजोरी गर्ने गरेको ग्राहकको गुनासो छ ।
अनलाईन इन्ट्री गर्दा बीलमा उल्लेख गरिएभन्दा बढि विद्युत महसुल तिर्नुपरेको भन्दै वडाबासीले गुनासो गरेपछि वडाध्यक्ष राउत साउन २४ गते नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्र पुगेका थिए । वडाध्यक्षको टोलीलाई वितरण केन्द्रले मिटर बक्समा देखिने यूनिटको तस्बिर खिचेर ल्याउन र सो अनुसार समस्याको हल गर्ने आश्वसन दिएको छ ।
कोभिड–१९ को महामारीका कारण बैसाखदेखि साउनसम्मको मिटर रिडिङ हुन नसक्दा विगतको खपतका आधारमा महसुल तोकिदिँदा समस्या आएको हुनसक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए । ‘ग्राहकले जुन बिल पाउँछ, अनलाईनमा त्यही इन्ट्री हुनुपर्छ ।
तर विगत महिनाको खपत हेरेर एभरेजमा तीन महिनाको महसुल निर्धारण गरिएको छ,’ प्रमुख चौधरीले भने, ‘अनुमानका आधारमा राख्दा कसैको बील धेर वा कसैको थोर भएको हुनसक्छ । त्यस्तो भएको रहेछ भने सच्याउने काम हुन्छ ।’