बुधवार, भाद्र १६ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १६, उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर बाईक तार्न वाध्य बनेका छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका लगायतका पालिकाका नागरिक शुल्क तिरेर मोटर बाईक तार्न बाध्य बनेका हुन् ।
खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका पालिकाका स्थानीय वर्षा याममा उदयपुर हुँदै पुर्वी शहर आवत–जावत गर्दा राँकुली खोला तर्नुपर्ने हुन्छ ।
राँकुली खोलामा हिउँद याममा पानी सुके पनि वर्षा याममा भने भेल उर्लिने गरेका कारण बाईक तार्नेक्रममा शुल्क तिर्नुपर्ने वाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताउनुभयो । राँकुली खोलामा वर्षा याममा बाईक तार्नका लागि प्रतिबाइक न्यूनतम ५ सयदेखि ३ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने वाध्यता छ ।
फोक्सिङटारस्थित सुनकोसी पुल नबनेसम्म जिल्लाबासी राकुँली खोलामा बाईक तार्नका लागि शुल्क तिर्न वाध्य हुने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो ।
बाईक तार्न बसेका ६ जनाले बाईकको दुई पांग्रामा बाँस वा काठको घोचो छिराएर काँधमा हालेर खोलामा बाईक तार्ने गरेका छन् । आफैले बाईक तार्न खोज्दा कतिपयले खोलाकोबिचमा लडाउने गरेका छन् । वर्षा याममा बाइक तथा यात्रुलाई खोला तार्दा स्थानीयले राम्रो आम्दानी गर्ने गरेका छन् ।