आइतवार, भाद्र २० २०७८
नेपाल वाइड
खोटाङ । भदौ २०, खोटाङमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका दिलसेर राई र खड्गसिं राईलाई पक्राउ गरेको हो ।
दिलसेरले गोठमा र खड्गसिंले घरमा अवैध भरुवा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले शनिबार दुई जनालाई नियन्त्रणमा लिएको हो ।
खानतलासी गर्दा उनीहरुको घर तथा गोठबाट एक÷एक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए । भरुवा बन्दुक सहित पक्राउ परेका राईद्धयलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।