बुधवार, आश्विन ६ २०७८
नेपाल वाइड
काठमाडौं । सगरमाथाको बेसक्याम्पमा हुने ‘फेसन सो’ मा नेदरल्याण्डको राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन् । बेसक्याम्पमा बिहीबार हुने फेसन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन सो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
‘फेसन सोे’ मा विश्वका १३ देशका अन्तर्राष्ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन सो मा क्याप्टेन विजय लामाले वार्क र्याम्प गर्ने भएका छन् ।
कासा बुटिक डिजाइन, आर बी डायमन्ड र के फिल्मसले फेसन सोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेसनल सेरिकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।
एल्स्यान्ड्रव जारिनो इटाली, जुलीया क्रिस्टिना मुलर डेनमार्क, आरोन गेज रिचार्ड बेलायत, हुर्बेट विकटोरक्वासप्रोवाइस पोल्याण्ड, जर्ज रोबर्ट रेन्स बेलायत, एकत्येरिना तेरेगुवा रसियन, बेन यसमिन हमौडा डेनमार्क, राजकुमारी एलीसा क्याटरिना इगर नेदरल्याण्ड, राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो इटाली, लुइस हेस डेनमार्क, रेहन श्रेष्ठ नेपाल, फिनल्याण्डकी टीया क्यामीला र पाउला मारिया सहभागी हुने भएका छन् ।
मौसम परिवर्तन विश्वव्यापी समस्याका रूपमा, सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको बेला सचेतना बढाउन फेसन सोको आयोजना गर्न लागिएको हो । हिमाल आरोहण गर्नेको संख्या बढेसँगै सगरमाथासहित सबै हिमाल प्रदुषित बन्दै गएका छन् । अपघटन नहुने जैविक सामानबाट बनेका उत्पादनको प्रयोग निरुत्साहन गर्नु सो कार्यक्रमको उद्देश्य रहेको छ ।
कोभिड–१९ को महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन शोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्वास गरेको छ । विश्वको अग्लो स्थानमा फेसन सो गर्दा विश्वभर नेपाल सगरमाथाको प्रचारप्रसार हुनेछ ।
फेसन शोका साथै अपघटन हुने जैविक सामग्रीबाट नेपालामै उत्पादित पश्मिना र फेल्टसम्बन्धी जानकारीमूलक वर्कशपको पनि आयोजना हुनेछ । वर्कसपमा हिमाल आरोहण तथा ट्रेकिङ गर्नेहरूलाई अपघटन हुने जैविक कपडा प्रयोग गर्न प्रेरित गरिनेछ ।
फेल्ट र पश्मिनाजस्ता ‘मेड इन नेपाल’ कपडा प्रयोगबाट प्रकृति र हिमाललाई नोक्सान नहुने कासा बुटिकले जनाएको छ । कासा बुटिक नेपालमा स्थापित अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो । ‘कासा’ बुटिकले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत यूरोपका विभिन्न देशमा नेपालमा बनेका कपडा निर्यात गर्ने गरेको छ ।