Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साकेलामा अशक्तलाई घरमै नागरिकता वितरण

    साकेलामा अशक्तलाई घरमै नागरिकता वितरण


    • बुधवार, आश्विन १३ २०७८

    • नेपाल वाइड


    साकेलामा अशक्तलाई घरमै नागरिकता वितरण
    अशक्तलाई घरैमा नागरिकताको प्रमाण–पत्र प्रदान गर्दै साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का ।

    खोटाङ । असोज १३, खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घर–घरमै नागरिकताको प्रमाण–पत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाण–पत्र पुर्‍याएर वितरण गरेको हो ।

    मंगलबार साकेला गाउँपालिका–४ मात्तिमका २० वर्षीय खगिन दर्जी, साकेला गाउँपालिका–३ खिदिमा बोराटोलकी २५ वर्षीय कृष्णकुमारी खत्री र साकेला गाउँपालिका–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राईलाई नागरिकताको प्रमाण–पत्र उपलव्ध गराइएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।

    गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले अपांगता भएका नागरिकलाई प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहवरमा नागरिकताको प्रमाण–पत्र वितरण गरेका छन् । क्रमशः अन्य अशक्तलाई घरैमा नागरिकताको प्रमाण–पत्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा प्रकृया पुरा गरेर नागरिकता तयार भएपछि प्रशासनले आफ्नो प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नागरिकताको प्रमाण–पत्र वितरणको व्यवस्था मिलाइएको हो ।

    नागरिता पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकता विहिन अशक्त र अपांग लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो ।

    नागरिकता वितरणसँगै अशक्तको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए । बुधबार साकेला गाउँपालिका–२ रतन्छाका वृद्ध नन्दलाल फुयाँल लगायतलाई प्रशासनको अनूसुचीमा सनाखत गराएर नागरिकता वितरण गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार