Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    सडक ढलानमै लापरवाही

    दिक्तेल : सडकको ढलान नसुक्दै बाईक गुडाउन थालिए

    दिक्तेल : सडकको ढलान नसुक्दै बाईक गुडाउन थालिए


    • सोमवार, आश्विन २५ २०७८

    • नेपाल वाइड


    दिक्तेल : सडकको ढलान नसुक्दै बाईक गुडाउन थालिए

    खोटाङ । असोज २५, खोटाङको साविकको सदरमुकाम दिक्तेलबजारको सडकको ढलान नसुक्दै बाईक गुडाउन थालिएको छ । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अगाडि २२ असोज राती गरिएको सडक ढलान नसुक्दै बाईक गुडाउन थालिएको हो ।

    जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनी सुर्य विकास जेभी लहानले ढलान गरेर विजुलीको पोल तेस्र्याएर राखे पनि कुनापट्टिबाट बाईक गुडाउन थालिएको हो । अघिल्लो राती गरिएको ढलानमाथि भोलीपल्टैबाट बाईक गुडाउन थालिएपछि ढलान कमजोर बन्ने स्थानीय सञ्जयकुमार राईले बताए ।

    आलो ढलानमाथि बाईक गुडाइरहँदा निर्माण कम्पनी, स्थानीय सरकार र सघन शहरी विकास तथा भवन निर्माण आयोजना बेखबर देखिएका छन् । ढलान नसुकेसम्म सवारी साधन आवत–जावतमा रोक लगाइनुपर्ने स्थानीयको भनाई छ । निर्माण कम्पनीका प्रतिनिधि ढलान गरेर हिँडेपछि बाईक चालकले त्यहीमाथिबाट बाईक वारपार गराउन थालेका हुन् ।

    सडक ढलानमै लापरवाही

    दिक्तेलबजारको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा स्टीमेट विपरित रड राखेर ढलान गरेको पाइएको छ ।

    बजारको सडक ढलानकालागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने स्टीमेट छ ।

    यस्तै, लम्बाईतेर्सो १० एमएमको रड १५/१५ सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने स्टीमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको हो । १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दुरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको राईले बताए ।

    हालसम्म ढलान भइरहेका सडकमा स्टीमेट अनुसार रड राखे/नराखेको विषयमा धेरैजसो स्थानीय मौन देखिएका छन् । सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्जिनियर विनोद सिंले भने सडकको रड एक/दुई इन्च तलमाथि हुनु स्वभाविक भएको बताए ।

    अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

    अझ रातको समयमा सडक ढलान गर्ने गरिएको छ । सडक ढलानका क्रममा मापदण्ड विपरित रड राखिएको जानकारी आए लगत्तै सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियरलाई सच्याउन निर्देशन दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

    निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख वजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।

    सबैको नजर पर्ने जिल्लाको केन्द्रमा निर्माणाधिन संरचना निर्माणमै चरम लापरवाही हुँदा दुरदराजमा कस्तो संरचना बनिरहेका होलान् सहजै अनुमान गर्न सकिन्छ ।

    सम्बन्धित समाचार