सोमवार, कार्तिक ८ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ८, जिल्ला प्रहरी कार्यालय खोटाङले जुवा (तास)को खालबाट पाँच जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हरि जोशीको घरमा डेरा लिएर बसेका साकेला गाउँपालिका–५ मात्तिमका हिराधन राईको कोठामा जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईको कोठामा जुवा (तास) खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले ८ कात्तिक बिहान राई सहित ओखलढुंगा सिद्धिचरण नगरपालिका घर भइ हाल साकेला गाउँपालिका–२ रतन्छा बस्ने सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका बशन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका टिकाराम राई र उदयपुरको कटारी नगरपालिका–११ का खोमबहादुर क्राप्छाकी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।
जुवा (तास)को खालबाट नगद ७१ हजार २० र ५२ पत्ती तास फेला बरामद गरिएको प्रहरीले जनाएको छ । तास खेलिरहेका व्यक्तिलाई कानून बमोजिम पक्राउ गरी हिरासत कक्षमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक शाहले बताए ।
दिक्तेलबजारमा बेला–बेलामा जुवा (तास) खेल्ने व्यक्ति पक्राउ पर्ने गरेका छन् । कतिपय घरको कोठामा भाडा लिएर जुवा (तास) खेलाउने गरिएको स्थानीय बताउँछन् ।