Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गरिब परिवारमा आत्महत्या दर बढि

    गरिब परिवारमा आत्महत्या दर बढि


    • मंगलवार, कार्तिक ९ २०७८

    • नेपाल वाइड


    गरिब परिवारमा आत्महत्या दर बढि
    आत्महत्या दरको विषयमा पत्रकारलाई जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाह । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ । कात्तिक ९, खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढि पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को आत्महत्याको तथ्यांकलाई विश्लेषण गर्दा गरिब परिवारका ६८.१८ प्रतिशतले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    सो अवधिमा मध्यम वर्गीय परिवारका २९.५५ प्रतिशत र धनी वर्गका २.२७ प्रतिशतले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तीन आर्थिक वर्षको अवधिमा शिक्षितभन्दा अशिक्षित व्यक्तिले बढि आत्महत्या गरेको पाइएको छ ।

    साधारण लेखपढ गर्न सक्ने ६८.१८ प्रतिशत, कक्षा १० उत्तिर्ण गरेका २५ प्रतिशत र सोभन्दा माथि अध्याययन गरेका ७.८२ प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जातीय आधारमा अध्ययन गर्दा सबैभन्दा बढि जनजाती समुदायमा आत्महत्या हुने गरेको पाइएको छ ।

    जनजाती समुदायका १०१ जना, दलित समुदायका ३० र क्षत्री/बाहुन समुदायका २६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यस्तै, संयुक्त परिवारभन्दा एकल परिवारमा आत्महत्याको दर बढि देखिएको छ । एकल परिवारमा ७६.७० प्रतिशत र संयुक्त परिवारमा २३.३० प्रतिशतले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

    तीन आर्थिक वर्षको अवधिमा विवाहित ७३.०७ प्रतिशत र अविवाहित ३६.९३ प्रतिशतले आत्महत्या गरेका छन् । ‘आत्महत्यामा व्यक्ति, परिवार र समाजको दोष हुन्छ,’ प्रहरी निरिक्षक शाहले भने, ‘आत्महत्याका क्रममा प्रयोग हुने डोरी, विषादिजस्ता वस्तुमा पहुँच घटाउनु पर्छ । मानसिक रोग वा दिर्घ रोगीको समयमै उपचार गरे पनि आत्महत्या केही कम गर्न सकिन्छ ।’

    आत्महत्या भए/गरेका समयलाई अध्यायन गर्दा मध्यान्ह १२ बजेदेखि बेलुका ६ बजेको अवधिमा ६२ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

    यस्तै, बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्मको अवधिमा ६० जना, बेलुका ६ बजेदेखि राती १२ बजेको अवधिमा ३१ जना र रातको १२ बजेदेखि बिहान ६ बजेको अवधिमा १४ जनाले आत्महत्या गरेको पाइएको प्रहरी निरिक्षक शाहले बताए ।

    खोटाङमा आर्थिक वर्ष २०७५/०७६ मा ३२ पुरुष, १८ महिला र २ बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७६/०७७ मा २५ पुरुष, १२ महिला र १२ वालबालिका, आर्थिक वर्ष २०७७/०७८ मा ४७ पुरुष, २० महिला र ८ वालवालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार