बिहिवार, कार्तिक ११ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ११, हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार किसन राईको खोटाङमा भीरबाट लडेर मृत्यु भएको विषयमा प्रशासन, प्रहरी, राजनैतिक दल र पत्रकारले चासो देखाएका छन् ।
काठ्माण्डौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोला नजिकै रहेको ध्वोजेम्पा भीरबाट खसेर पत्रकार राईको ७ कात्तिक साँझ मृत्यु भएको विषयमा प्रशासन, प्रहरी, राजनैतिक दल र पत्रकारले चासो देखाएका हुन् ।
पत्रकार राईको परिवार तथा आफन्तले घट्नालाई शंकास्पद मानिरहेको अवस्थामा बुधबार प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र डिएसपी उमेश लम्सालको टोलीले घट्नास्थलको अवलोकन गर्नुका साथै उद्धारका क्रममा खटिएका स्थानीयबाट घटनाको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।
प्रहरीले घट्नाको विषयमा अनुसन्धान गरिरहकै अवस्थामा जनता समाजवादी पार्टीका प्रदेश कमिटि सचिव सुर्य राई, जनता समाजवादी पार्टीका खोटाङ अध्यक्ष टंक थापा लगायतको टोलीले पनि स्थानीयवासी लगायतसँग घट्नाको बारेमा जानकारी लिँदै घट्नास्थलको अवलोकन गरेको छ ।
पत्रकार राई खोलामा मृत फेला परेको विषयलाई कतिपयले स्वभाविक र कतिपयले नियोजित घट्नाका रुपमा व्याख्या गरिरहेको अवस्थामा जिल्लाका पत्रकारको टोली पनि घट्नास्थल पुगेको छ ।
पत्रकार टोलीले स्थानीयवासीसँग घट्नाको विषयमा धारणा बुझेर फर्किएका छन् । गाडी रोकेर दिसा गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले बताए ।
घट्नास्थल पंखु खोलाबाट करिब पाँच सय मिटर भोजपुरतर्फ पर्छ । मुनि अग्लो छाँगो भएकै कारण सडकको डिलमा तारजालीले बाँधेको ग्याविन वाल उठाइएको देखिन्छ । तर, पत्रकार राई टुक्रे ग्याविन वाल नाघेर डिलमुनि पुगेको घट्ना प्रकृति देखिन्छ । सडकको डिलमुनि घट्नास्थलमा दिसा र प्रयोग गरेको नेप्किन यथावत छ ।
सडक खनेका कारण भिरानो बनेको पाखामा भीरतर्फ घस्रिएको र झार मडारिएको देखिन्छ । घट्ना प्रकृति दिसापिसाव सकेपछि डिलमाथि निस्कनेक्रममा चिप्लिएर भीर उँदो खसेजस्तो अनुमान गर्न सकिने स्थानीय रेवत राईले बताए ।
पत्रकार राईको शव करिब दुई सयमिटर तल खोलामा पानीमा डुबेको अवस्थामा फेला परेको थियो । भीरमा पुगेर गाडी रोकिनु, प्रहरीलाई खबर ढिला हुनु, परिवारलाई बेलामा खबर नहुनुले आफन्तले घट्नालाई शंकास्पद मानेका छन् । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
निजी गाडीमा पत्रकार राई सहित शसस्त्र प्रहरीका पुर्व एसपी प्रेम श्रेष्ठ, श्रेष्ठकी श्रीमती र नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष मानबहादुर राना मगर सवार थिए । पत्रकार राईको शव उतै पोष्टमार्टम गर्नेगरी आफन्तले धरान लगेका छन् ।
घट्नामा केही शंका गर्ने आधार रहेको जनता समाजवादीका जिल्ला अध्यक्ष थापाले बताए । “वरवर सजिलो ठाउँ हुँदाहुँदै भीरको टाकुरामा गाडी रोकिएको छ । साथी लडेको खबर गाउँले र प्रहरीलाई ढिलो गरेको छ,” थापाले भने, “उनीहरुको आर्थिक सम्वन्ध, व्यवसायीक सम्वन्ध लगायतको एंगलबाट अनुसन्धान गर्नुपर्न जरुरी देखिएको छ ।”