मंगलवार, कार्तिक १६ २०७८
नेपाल वाइड
खोटाङ । १६ कात्तिक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित प्रहरीचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले मंगलबार प्रहरीचौकीको साँढे दुई तले कार्यालय भवन उद्घाटन गरेका हुन् ।
प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगामार्फत प्राप्त भएको २ करोड २ लाख २ हजार ४१४ रुपैयाँको लागतमा प्रहरीचौकी बुईपाको नयाँ भवन निर्माण गरिएको हो ।
स्वर्गीय त्रिभुनारायण श्रेष्ठ, स्वर्गीय हरिकुमार श्रेष्ठ, स्वर्गीय जगतबहादुर श्रेष्ठ तथा स्थानीय पदमबहादुर श्रेष्ठ र बमबहादुर श्रेष्ठले निःशुल्क पाँच रोपनी जग्गा दिएपछि प्रहरीचौकीको भवन बनाइएको हो ।
प्रहरीचौकीका लागि कार्यालय प्रमुख कक्ष, प्रवन्ध शाखा, प्रहरी जवानको दुई वटा व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, चार कोठे शौचालय लगायतका संरचना बनाइएको छ ।
निर्माण कम्पनी गोर्खा रुजन जेभीले २८ मंसिर २०७७ मा सम्पन्न गरेको भवन ३ पुस २०७७ मा प्रहरीचौकीलाई हस्तान्तरण गरेको थियो । एक वर्षमा सक्नेगरी १७ असार २०७६ मा भवन निर्माणको सम्झौता गरिए पनि कोभिड–१९ का कारण ६ महिना म्याद थप भएको थियो ।
प्रहरी नायव महानिरीक्षक बिसीले १५ कात्तिकमा ओखलढुंगाको प्रहरीचौकी कोषाहाटको आठ कोठा भएको दुई तले कार्यालय भवन उद्घाटन गरेका थिए ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५४५ रुपैयाँको लागतमा प्रहरीचौकी कोषाहाटको भवन, आवास, भान्छा घर तथा शौचालय निर्माण गरिएको हो ।
यस्तै, १३ कात्तिकमा सोलुखुम्बुको प्रहरीचौकी खुम्जुङको कार्यालय भवन उद्घाटन गरिएको छ । १ करोड ६८ लाख ६४ हजार ३८४ रुपैयाँको लागतमा प्रहरीचौकी खुम्जुङको भवन लगायतका संरचना निर्माण गरिएको हो ।
१२ कात्तिकमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवन उद्घाटन गरे ।
ईलाका प्रहरी कार्यालय नाम्चेको कार्यालय तथा आवास भवन २ करोड ४ लाख ४७ हजार ८५५ रुपैयाँको लागतमा सम्पन्न भएको हो । यस्तै, १० कात्तिकमा ईलाका प्रहरी कार्यालय लुक्लाको भवन तथा आवासगृह उद्घाटन गरिएको थियो ।
२ करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ईलाका प्रहरी कार्यालय लुक्लाको साँढे २ तले भवन तथा आवास प्रहरी महानिरिक्षक थापा क्षेत्रीले उद्घाटन गरेका थिए ।