सोमवार, कार्तिक २९ २०७८
नेपाल वाइड
ओखलढुंगा । २९ कात्तिक, दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा ओखलढुंगामा एकै वडाका चार जनाको मृत्यु भएको छ । सोमबार बिहान सुनकोशी गाउँपालिका–८ च्यानमबाट चम्पादेबी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सिमानामा पर्ने ककनी मन्दिरतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा सिद्धिचरण नगरपालिका–१० का ३५ बर्षीया मिठुमायाँ मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामायाँ मगरको मृत्यु भएको हो ।
शान्तामायाँको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा र अन्य तीनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

१८ जना सवार बोलेरो गाडी सुनकोशी गाउँपालिका–९ बुलडाँडा (जौबारी/जौडाँडा)मा अनियन्त्रित भइ सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनीहरु हरिबोधनी एकादशीको अवसरमा ककनी मन्दिर जानेक्रममा दुर्घट्नामा परेका हुन् ।
दुर्घटनामा गम्भीर घाईते भएकामध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरमार्फत काठ्माण्डौ पठाइएको छ । यस्तै, घाईते ५ जनाको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहको छ । अन्य तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् । घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।