बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक संमृद्ध राईले आफ्नो जन्म दिनमा प्याङ्क्रियाजको क्यान्सरबाट पिडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् ।
हाल विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठ्माण्डौंमा कक्षा ३ मा अध्ययनरत संमृद्धले ८ वर्ष पुरा गरी ९ वर्ष प्रवेश गरेको अवशरमा बिहिबार जीपी मेमोरियल कलेज चाबहिल काठमाडौंका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद ८ हजार आर्थिक सहयोग गरेका हुन् ।
हाल ॐ अस्पताल काठमाडौंमा क्यान्सरको उपचार गराइरहेका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्यलाभको कामना सहित संमृद्धले आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका हुन् ।
बालक राईले उपेन्द्रनाथ तिम्सिनामार्फत क्याम्पस प्रमुख राईकी श्रीमती शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेका जानकारी दिएका छन् । संमृद्धले २०७६ सालदेखि चकलेट बाँड्ने, केक काट्ने र भोज खुवाउनमा खर्च हुने रकमलाई सामाजिक हितमा उपयोग गरेर जन्मदिन मनाउँदै आएका छन् ।
‘सक्नेले नसक्नेलाई सहयोग गर्ने र बाँडेर खाने संस्कारको विकासका लागि’ संमृद्धले जन्मदिनमा आफ्नो उमेरको संख्या बराबरको आर्थिक रकम सामाजिक हितका काममा खर्च गर्दैआएका छन् । संमृद्ध जति वर्ष पुग्छ जन्मदिनमा उति नै हजार रकम सामाजिक काममा खर्च गर्न सुरु गरिएको आमा रिंकु राईले बताईन् ।
‘मलाई मेरो बुवाआमाले बाँडेर खानुपर्छ भनेर सिकाउनुभयो । त्यही भएर अनावश्यक खर्च कटौती गरेर जोहो गरेको रुपैयाँबाट जन्मदिनको अवसरमा सहयोग गर्न थालेको हुँ,’ संमृद्धले भने, ‘यसपटक स्कुल र घरमा चक्लेट बाँडें । केक काटें ।
पहिलेको तुलनामा केक सानो काट्छु । दसैं, तिहारलगायत विभिन्न चाडबाड र विभिन्न समयमा आफन्तले दिनुभएको रुपैयाँ खुत्रुकेमा हालेर जन्मदिनमा आर्थिक सहयोग गर्न रहर गरेको छु ।’
संमृद्धले २०७७ सालमा ज्योती मावि (खोटाङ)को ‘ज्योतीका साथीहरु’ नामक अभियानलाई ७ हजार र त्योभन्दा अघिल्लो वर्ष चितवनको ‘सानोघर’ नामक संस्थालाई ६ हजार आर्थिक सहयोग गरेका थिए ।