सोमवार, मंसिर २० २०७८
नेपाल वाइड
खोटाङ, २० मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भीरबाट लडेर मृत्यु भएका पत्रकार किसन राईको परिवारले सो घट्नाका विषयमा अनुसन्धान गर्न माग गरेको छ ।
काठ्माण्डौंबाट ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुर (पुर्खौली थलो) पुगेर खोटाङ, भोजपुर घुम्दै धरान जानेक्रममा गाडीबाट ओर्लिएर दिसा गर्न गएको अवस्थामा पत्रकार राईको गत ७ कात्तिक साँझमा ध्वजेम्पा भीरबाट लडेर मृत्यु भएको थियो । लडेको घट्नास्थल, शवको प्रकृतिदेखि पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको भन्दै पत्रकार राईका छोरा अरिम राईले सोमबार अनुसन्धानको माग सहित जिल्ला प्रहरी कार्यालय खोटाङमा निवेदन दिएका छन् ।
निवेदनमा पत्रकार राईसँगै यात्रा गरिरहेका काठ्माण्डौं नागार्जुन नगरपालिका–२ का प्रेमकुमार श्रेष्ठ (शसस्त्र प्रहरीका पुर्व एसपी), उनकी श्रीमती चन्द्रमायाँ श्रेष्ठ र धरान नगरपालिका–११ का मानबहादुर राना मगरलाई कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन माग गरिएको छ । घट्ना लगत्तै मृतकका भतिजोले निवेदन दिएकामा पुःन अनुसन्धानका लागि छोराले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राई मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने भीरबाट लडेका थिए ।
पत्रकार राईको शव सडकभन्दा करिब दुई/तीन सय मिटर तल खोलामा बगिरहेको पानीमा दाहिने खुट्टाको घुँडाको हड्डी भाँचिएर बाहिर निस्किएको, बायाँ खुट्टाको तिघ्राको हड्डी भाँचिएको, चिउँडोको तल्लो भागमा दुई ईन्च लामो गहिरो काटिएको, निधारको भागमा चोट लागेको, वायाँ पाखुराको हाड भाँचिएको अवस्थामा भेटिएको थियो ।
तर घटनास्थल लास मुचुल्का भने ‘आफै लडेर मृत्यु भएको’ बनाइएको परिवारको गसुनासो छ । चिउँडोमुनि घाँटीमाथिको चोट र घुँडामुनिको चोटबाट धारिलो हतियार प्रयोग गरी कर्तव्यबाट मृत्यु भएको हुनसक्ने छोरा अरिमले दावी गरे ।
घट्नास्थल भिरालो भएकाले सो स्थानमा गाडी रोक्नुपर्ने अवस्था नभएको, भिरको शिर भएकाले दिसापिसाव गर्न जाने ठाउँ नभएको, मृतकको कपडा धारिलो हतियारबाट काटिएको देखिएको हुँदा किसनको कर्तव्यबाट मृत्यु भएको हुनसक्ने परिवारको आशंका छ ।

पोष्टमार्टम रिपोर्टमा मृतकको हातको औंलाको नङको जरामा निलो डाम देखिएको, ओठमुनिको भित्री भागमा रातो निलडाम देखिएको हुँदा बुवाको नाक र मुख थिचेर निसास्सिएर कतव्र्यबाट मृत्यु भएको हुनसक्ने छोरा अरिमले आशंका गरे । पोष्टमार्टम रिपोर्ट समेत फितलो बनाइएको मृतक परिवारको गुनासो छ ।
पोष्टमार्टम रिपोर्टमा बायाँ खुट्टाको तिघ्राको हाड र बायाँ पाखुराको हाड भाँचिएको उल्लेख नभएको, दाहिने खुट्टा छिनिएको र घुँडाको हड्डी भाँचिएर बाहिर निस्किएको भन्ने प्रष्ट उल्लेख नभएको, पोष्टमार्टम सुरु गरिएको र अन्त्या भएको समय उल्लेख नभएको आफन्त आशिष राईले गुनासो गरे ।
दिसापिसावका लागि सजिलो ठाउँको सट्टा भीरमाथि गाडी रोक्नु, प्रहरीलाई खबर ढिला हुनु, परिवारलाई बेलामा खबर नहुनुले आफन्तले सुरुदेखि नै घट्नालाई शंकास्पद मान्दैआएका छन् ।
स्थानीयका अनुसार प्रेमकुमारले चलाएको ०२४–च–३८०२ प्रदेश नं. ३ को निजी जिप पंखु खोला तरेर ध्वजेम्पा भीरमाथि रोकिएको थियो । त्यहीबेला शौच गर्न गएका पत्रकार राई वेपत्ता भएपछि खोजीका क्रममा भीरमुनि खोलामा मृत फेला परेको बताइएको छ ।
टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइ सरेका पत्रकार राई हङकङ पुगेर दुई दशकदेखि पत्रकारिता गरिरहेका थिए । नेपाल पत्रकार संघ हङकङ र जनजाती महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष थिए ।