बिहिवार, मंसिर २३ २०७८
नेपाल वाइड
खोटाङ, २३ मंसिर । खोटाङका चार किशोरीले महिलाको शसक्तीकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् । जनचेतनाको माध्यमबाट लैंगीक विभेद एवं महिला हिंसाको न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीय ‘सुनाखरी’ निर्मला आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १९ वर्षीय सुलोचना आचार्य, नेर्पाकी २० वर्षीय यसोदा रिजाल र ऐसेलुखर्क गाउँपालिकाकी रोजिना दमाईले लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका हुन् ।
महिलामाथि हुने सामाजिक विभेद एवं हिंसाको न्यूनीकरणका लागि चार युवतीले ‘म छोरी हो तर कमजोरी होईन’ नामक समुह बनाएर १९ मंसिरदेखि कालिका माबि नेर्पाबाट ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका हुन् ।
हप्ता दिन वा १५ दिनको अन्तरालमा विभिन्न विद्यालय वा गाउँमा भेला गरेर महिलाको शसक्तीकरणका सवालमा निरन्तर अभियान सञ्चालन गरिने समुहकी ‘सुनाखरी’ निर्मला आचार्यले बताईन् ।
‘हिंसाबाट बच्न महिला आफै सचेत हुन जरुरी छ । आफ्नो अधिकार के हो ? अधिकार कहाँ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने वारेमा सचेतना चाहिन्छ,’ निर्मलाले भनिन्, ‘पुरुषले गर्ने सबै काम महिलाले पनि गर्न सक्छ । महिला आफै शिक्षित बन्नु पर्छ । स्वलम्वी बन्न सक्नु पर्छ । वालविवाहको अन्त्या हुनुपर्छ ।’
चार अभियान्ताले ‘म छोरी हो तर कमजोरी होईन’ नामको फेसबुक ग्रुप पनि बनाएका छन् । सो ग्रुपमा महिला हिंसा तथा महिला भएकै कारण गरिने शारीरिक, मानसिक, सामाजिक तथा वौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहार विरुद्धका गतिविधिलाई प्रकाशन गर्ने/गराउने व्यवस्था मिलाइएको ‘उठ छोरी परिवर्तनका लागि’ अभियानकी सदस्य सुलोचनाले बताईन् ।
समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने प्रचलन कायम छ । छोरा पाउनका लागि निरन्तर छोरी जन्माएका उदाहरण प्रशस्त देखिन्छन् । लगातार छोरी जन्माएकी आमालाई श्रीमानले हेलाहोचो गरेको दृश्या निर्मलाले आफ्नै गाउँ–ठाउँमा देखिन् । त्यही घट्नाबाट उनले साथीहरुसँग मिलेर ‘म छोरी हो तर कमजोरी होईन’ भन्ने अवधारणा अघि सारेकी हुन् ।
निर्मला र सुलोचना केही समयअघि जनगणनाका रुपमा गाउँमा खटिएकी थिईन् । जनगणना गर्नेक्रममा हरेक घरमा पुगेर महिलासँग नजिकबाट गफ गर्ने र उनीहरुको समस्यालाई नजिक बुझ्ने अवशर पाईन् । ‘एउटा घरमा पुगेँ ।
२१ वर्षकी युवतीले दुई वटा बच्चा जन्माइसकेको रहेछ । कति पढ्नु भएको छ भनेर सोध्दा जवाफ दिन अनकनाउनु भयो । उहाँले कक्षा ५ मात्र पढ्नु भएको रहेछ,’ निर्मलाले भनिन्, ‘बच्चालाई अंग्रेजीमा फलफुलको नाम लेख्न सिकाउन समस्या रहेछ । त्यो घट्नाबाट पनि महिलाका पक्षमा सचेतनामुलक अभियान चलाउने निर्णयमा पुगेका हौँ ।’