शुक्रवार, मंसिर २४ २०७८
नेपाल वाइड
खोटाङ, २४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पिडित महिला र एकल पुरुषलाई आर्थिक सहयोग प्रदान गरेको छ । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवशरमा अवसरमा शुक्रबार नगरपालिकाले हिंसा पिडित तीन महिला र एकल पुरुषलाई आर्थिक सहयोग गरेको हो ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हर्कमायाँ बस्नेत, हरिमायाँ सुन्दास, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी टिकादेवी पुरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एकल पुरुष नरबहादुर गुरुङलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरिएको हो ।
हिंसा पिडित महिला तथा एकल पुरुषलाई नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खादा ओढाएर सहयोग रकम हस्तान्तरण गरेका थिए । जिवीकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ असहायक महिला तथा एकल पुरुषलाई आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी हिंसा पिडित महिला अम्बीका आचार्यको आवास निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने समाजसेवी तारानाथ फुयाँललाई सम्मान गरिएको छ ।
बस्ने घर र जग्गा नभएका हिंसा पिडित अम्बीकाको घर निर्माणका लागि जग्गा दिने जग्गादाता फुयाँललाई सम्मान गरिएको हो । फुयाँलले जग्गा उपलव्ध गराएपछि नगरपालिकाले अम्बीकाका लागि घर निर्माण गरेर हस्तान्तरण गरेको थियो । फुयाँल मानव अधिकारकर्मी पनि हुन् ।