बुधवार, पौष १४ २०७८
नेपाल वाइड
खोटाङ, १३ पुस । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको ठेक्का रद्ध गरिएको छ । निर्माणाधिन प्रशासनिक भवनको ग्राउण्ड फ्लोरको पिलरको फेल भएको ल्याव रिपोर्टको सट्टा निर्माण व्यवसायीले पास भएको नक्कली ल्याव रिपोर्ट बनाएको खुलेको केही समयपछि ठेक्का रद्ध गरिएको हो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड बैभव जेभीका प्रतिनिधिले ‘फेक’ ल्याव रिपोर्ट तयार पारेर पेश गरेको खुलेको थियो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्र वा सोभन्दा माथिल्लो आधिकारिक सरकारी निकायबाट विज्ञ ल्याएर स्थलगत ल्याव परिक्षण गर्ने मौका दिइए पनि निर्माण व्यवसायीले सो अनुसार ल्याव परिक्षण गर्न नसकेपछि सोमबार ठेक्का सम्झौता तोडिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताईन् ।
गाउँ कार्यपालिकाको आदेशमा भवनको ठेक्का रद्ध गर्ने निर्णयसँगै पर्फमेन्स ग्यारेन्टी ३१ लाख जफत गर्ने र हालसम्म भुक्तानी लिएको करिब ६२ लाख रकम बराबरको बिगो दावी गर्ने प्रकृया थालिएको छ ।
३ करोड ६९ लाख ८५ हजार ८७३ रुपैयाँमा टेण्डर आव्हान गरिएको भए पनि सो निर्माण कम्पनीले मूल्या अभिबृद्धि कर सहित २ करोड ६८ लाख ४३ हजार ३४६ रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का लिएको थियो ।
निर्माणाधिन भवनको पहिलो ग्राउण्ड फ्लोरको पिलरको गुणस्तर परिक्षणका लागि स्याम्पल (कंक्रिट क्यूव) संकलन गरेर २१ जेठ २०७८ मा ल्यावटेष्ट गर्न गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पठाइएको थियो ।
सोको ल्याव रिपोर्ट फेल भएर आएपनि निर्माण व्यवसायीले पास भएको अर्को नक्कली ल्याव रिपोर्ट तयार पारेर गाउँपालिकामा बुझाएको खुलेको थियो । ‘फेक’ ल्याव रिपोर्ट ‘भेरीफाई’ नभएसम्मका लागि भन्दै गाउँपालिकाले १५ भदौमा पत्राचार गर्दै निर्माण कम्पनीलाई काम रोक्न पत्राचार गरेको थियो । त्यस यता भवनको काम ठप्प छ ।