बुधवार, पौष २८ २०७८
नेपाल वाइड
खोटाङ, २६ पुस । सामुदायीक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाकी परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ ।
तारेभीर सामुदायीक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरको परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलव्ध गराएको हो ।
सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले डढेलोमा ज्यान गुमाएकी डम्बरकुमारीकी छोरा कृष्णबहादुर आले मगरलाई बुधबार भगवती सामुदायीक वनको कार्यालयमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरेका हुन् ।
सामुदायीक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयको दैवी प्रकोप कोषबाट मृतक डम्बरकुमारीको परिवारलाई राहत स्वरुप रकम उपलव्ध गराइएको अध्यक्ष राईले बताए । मगर परिवार भगवती सामुदायीक वन लगायतका सामुदायीक वनको उपभोक्ता हुन् ।
डढेलो निभाउने क्रममा वा अन्य कारणबाट डढेलोमा परी ज्यान गुमाएका सामुदायीक वनका उपभोक्तालाई लक्ष्यित गर्दै स्थापना गरिएको कोषबाट मगर परिवारलाई राहत प्रदान गरिएको हो ।
जंगलमा लागेको डढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृत्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृत्यु भएको थियो ।