मंगलवार, माघ १८ २०७८
नेपाल वाइड
खोटाङ, १८ माघ । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा विकास तथा समन्वय समिति सोलुखुम्बुका सव–इन्जिनियर पवनकुमार यादवलाई मोसो दलेर जुत्ताको माला लगाउने समुहलाई कानुनी दायरामा ल्याउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।
कानुन हातमा लिएर सव–इन्जिनियर यादवमाथि गरिएको दुव्र्यवहार अमर्यादित र मानव अधिकार विरुद्धको खेदजन्य कार्य भएको भन्दै राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले त्यस्ता कार्य नगर्न/नगराउन र दोषीलाई कानूनी दायरामा ल्याउन भनेको हो ।
विद्यालय भवन पुनःनिर्माणको बजेटमा कमिसन लिएको आरोप लगाउँदै नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका विद्यार्थीले सव–इन्जिनियर यादवलाई सोमबार कार्यालय परिसरको शौचालय नजिकै लगेर दुव्र्यवहार गरेका थिए ।
सव–इन्जिनियर यादव र नविनकुमार सिंहमाथि महाकुलुङ गाउँपालिकाभित्रका विद्यालय भवन निर्माणको बजेटमा भ्रष्टाचार गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको दावी छ । दुव्र्यवहारमा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।