शुक्रवार, फाल्गुण ६ २०७८
नेपाल वाइड
खोटाङ, ६ फागुन । खोटाङमा २८ हजार ८३२ नयाँ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा १ लाख १५ हजार ६४२ मतदाता रहेको जिल्लामा नयाँ सहित कुल मतदाता संख्या १ लाख ४४ हजार ४७४ पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । कुल मतदाता संख्यामध्ये पुरुष ७५ हजार ४४८ र महिला ६९ हजार २६ जना छन् ।
२०७४ सालमा २६ हजार २८३ मतदाता रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८ हजार ३१६ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या ३४ हजार ५९९ पुगेको जिल्ला निर्वाचन कार्यालका कम्प्यूटर अपरेटर सञ्जिव खड्काले बताए ।
यस्तै, यसअघि १६ हजार ४९० मतदाता रहेको हलेसी तुवाचुङ नगरपालिकामा ४ हजार ३६० नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या २० हजार ८५० पुगेको छ ।
ऐसेलुखर्क गाउँपालिकामा २ हजार ८९ नयाँ मतदाता थप हुँदा कुल मतदाता संख्या ११ हजार ४४१, केपिलासगढी गाउँपालिकामा २ हजार १३३ मतदाता थप हुँदा कुल मतदाता संख्या १० हजार ८५५, रावाबेँसी गाउँपालिकामा १ हजार ५८१ नयाँ मतदाता थपिँदा कुल मतदाता संख्या ९ हजार ५६३, साकेला गाउँपालिकामा १ हजार ९३९ मतदाता थप हुँदा कुल मतदाता संख्या ८ हजार ५९३, पुगेको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ हजार ९९२ मतदाता थप हुँदा कुल मतदाता संख्या १३ हजार ६४७, खोटेहाङ गाउँपालिकामा २ हजार ९३२ मतदाता थप हुँदा कुल मतदाता संख्या १५ हजार ३४३ मतदाता, बराहपोखरी गाउँपालिकामा १ हजार ६०८ मतदाता थप हुँदा कुल मतदाता संख्या ९ हजार ३४५ र जन्तेढुंगा गाउँपालिकामा १ हजार ८८२ मतदात थप हुँदा कुल मतदाता संख्या १० हजार २३८ पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
फोटो सहितको मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयले घुम्ती शिबिर सञ्चालन गरेको थियो । मतदाता नामावली दर्ताका लागि कतिपय पार्टीले बस रिजर्भ गरेरै स्थानीयलाई निर्वाचन कार्यालय पुर्याएको थियो ।
निर्वाचन कार्यालयले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसक्ने अवस्था भएमा स्वयंले वडा कार्यालयको सिफारिस सहित आगामी २० फागुनसम्म निवेदन दिन सक्ने जनाएको छ ।