Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साकेलामा शहीद स्तम्भ पार्क निर्माण

    साकेलामा शहीद स्तम्भ पार्क निर्माण


    • शुक्रवार, फाल्गुण २७ २०७८

    • नेपाल वाइड


    साकेलामा शहीद स्तम्भ पार्क निर्माण
    साकेला गाउँपालिकाले निर्माण गरेको शहीद स्तम्भ पार्क ।

    खोटाङ, २६ फागुन । खोटाङको साकेला गाउँपालिकाले शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरेको छ । १० वर्षे शसस्त्र द्धन्द्धको समयमा ज्यान गुमाएका जिल्लाका ७३ शहीदको सम्मान र सम्झनामा साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो ।

    प्रदेश सरकारको क्रमागत योजना अन्तरगत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले शहीद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको छ ।

    शसस्त्र द्धन्द्धको समयमा तत्कालिन नेकपा माओवादीका नेता तथा कार्यकर्ताले सेल्टरका रुपमा प्रयोग गरेको तावाभञ्ज्याङमा शहीद पार्क निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए ।

    शहीद स्तम्भ पार्कमा खोटाङका जनयुद्धका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नाम उल्लेख गरिएको छ ।

    माओवादीको सुरक्षित सेल्टर मानिएको तावाभञ्ज्याङ नजिकै पाँचधारेमा ८ असार २०६२ मा सुरक्षाकर्मीसँग दोहोरो भिडन्त भएको थियो । सो भिडन्तमा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’ सहित १० जना र नेपाली सेनाका १३ जना जवानले ज्यान गुमाएका थिए ।

    देश र जनताका लागि आफ्नो ज्यान बलिदान दिने शहीदको सम्मान एवं पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धनका लागि शहीद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए । शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरी व्यवसायिक रुपमा चिया बगान लगाइएको छ ।

    शहीद पार्क निर्माणस्थलको दायाँ/बायाँ करीब १० रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा चियाका आठ हजार बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारिसकेको छ ।

    सम्बन्धित समाचार