शनिवार, फाल्गुण २८ २०७८
नेपाल वाइड
खोटाङ, २७ फागुन । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको कामले गति लिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणको कामले पछिल्लो समय गति लिएको हो । २०७५ सालमै बनिसक्नु पर्ने पुलको ‘आर्क’को ट्रस राखेर आरसिसि ढलान सुरु गरिएको छ ।
२० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरिएको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीका साईड इन्चार्ज मदन मगरले बताए । चैतभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुने जनाइएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपल्ट म्याद थप हुँदा पनि पुलको काम पुरा हुन सकेको छैन ।
‘आर्क’ पुलको खोटाङ र उदयपुरतर्फ दुई/दुई कोलम ढलान गरिसकिएको साईड इन्चार्ज मगरले बताए । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अव वर्षामा समेत पुलको काम नरोकिने निर्माण पक्षले दावी गरेको छ । पुलको ‘आर्क’ ढलान सुरु भएपछि पुल निर्माणको कामले चाँडै पूर्णता पाउनेमा जिल्लाबासी आशावादी देखिएका छन् ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने मोटरेबल पुल बनाउन सुरु गरिएको हो । फोक्सिङटारमा आर्क ब्रिज निर्माणको काम सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाईघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउने छ ।
पुलको तेश्रोपल्ट थप भएको म्याद आगामी चैतमा सकिदैछ । तर, बाँकी समयभित्र पुल निर्माणको काम सम्पन्न हुने छाँट छैन । फोक्सिङटार पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित)मा पूरा गर्नेगरी ठेक्का लागेको हो ।
फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष अशर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत परिरहेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा विगत ६ वर्षदेखि फोक्सिङटारमा बेलिब्रिज राख्नेक्रममा राज्यको करोडौं खर्च भइसकेको छ ।
फोक्सिङटारको बेलिब्रिज हटाइएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा तथा उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा कठिनाई भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए ।
ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् ।