Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : भ्याक्सिन लगाउन ढिला हुँदा रेबिजबाट ज्यान गुमाउँदै सर्वसाधारण

    खोटाङ : भ्याक्सिन लगाउन ढिला हुँदा रेबिजबाट ज्यान गुमाउँदै सर्वसाधारण


    • सोमवार, फाल्गुण ३० २०७८

    • नेपाल वाइड


    खोटाङ : भ्याक्सिन लगाउन ढिला हुँदा रेबिजबाट ज्यान गुमाउँदै सर्वसाधारण
    दिक्तेलबजारमा जम्मा भएका भुस्याहा कुकुर ।

    खोटाङ, ३० फागुन । २२ फागुनमा जिल्ला अस्पता दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए । स्वास्थ्यकर्मीले घाउ हुनुको कारण सोधीखोजी गर्दा बालक बताउन तयार भएनन् ।

    फकाइ फुल्याइ गरेपछि मात्र बालकले आफुलाई कुकुरले टोकेको खुलाउन तयार भए । सुई लगाउनुपर्ने डरले बालकले अन्य कारणले चोट लागेको बताइरहेको खुलेको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिक बताउँछन् । बालकलाई एन्टीरेबिज भ्याक्सिनको पहिलो मात्रा दिएर शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको छ ।

    केही समयअघि खोटाङकै एक वृद्धलाई कुकुरको सानो बच्चा (छाउरा)ले टोक्यो । तर उनले छाउराले टोकेको जानकारी परिवारका कसैलाई दिएनन् ।

    तीन हप्तापछि श्वास फेर्न अप्ठ्यारो हुने र पानीसँग डर लाग्ने समस्या देखिएपछि वृद्ध जिल्ला अस्पतालमा पुगे । डा. मल्लिकका अनुसार लक्षणका आधारमा वृद्धलाई एन्टीरेबिज भ्याक्सिन दिइयो तर दुई दिनपछि नै उनको मृत्यु भयो ।

    यस्तै, ५ माघमा बेवारिसे कुकुरले टोकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ६७ वर्षीय वृद्धाको ६ फागुनमा मृत्यु भयो । कुकुरले टोकेको दोश्रो दिन वृद्धालाई जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टीरेबिज भ्याक्सिन दिइएको थियो । तर, उनलाई रेबिजबाट बचाउने प्रयास असफल भए ।

    एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरेपनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भयो । टोकेको २८/२९ दिनपछि घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो ।

    कुकुरले टोक्ने वित्तिकै दिइनुपर्ने रेबिज इम्यूनोग्लोबुलिन डोज नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको आफन्त सोनाम राई बताउँछन् । जुन रेबिज इम्यूनोग्लोबुलिन डोज जिल्ला अस्पतालमा उपलव्ध हुन्न ।

    जिल्लामा कुकुरको टोकाइबाट घाईते भएका तथा रेबिजका कारण ज्यान गुमाउने व्यक्तिको यकिन तथ्यांक छैन । तर उल्लेखित दुई घट्नामा कुकुरले टोकेपछि एन्टीरेबिज भ्याक्सिन दिन ढिलाइ हुँदा घाईतेले ज्यान गुमाउन पुगेको देखिएको डा. मल्लिक बताउँछन् ।

    गत ६ कात्तिकमा दिक्तेलबजारका १५ जनालाई बेवारिसे कुकुले टोकेको थियो । त्यसमध्ये दुई जनालाई टेकु रेफर गरियो । केही समयअघि मात्र जन्तेढुंगा गाउँपालिकामा समेत कुकुरको टोकाइबाट दर्जनौं स्थानीय घाईते भएका थिए । बेलैमा भ्याक्सिन दिइएका कारण उनीहरु रेबिजबाट बँचे ।

    कुकुरले टोकेपछि जतिसक्दो छिटो स्वास्थ्य कार्यालयमा पुगेर भ्याक्सिन लगाउनु पर्ने हुन्छ । बेलामा भ्याक्सिन नपाए भाइरस ब्रेनमा पुग्ने र घाइतेलाई बचाउन सकिन्न । डा. मल्लिकका अनुसार एन्टीरेबिज लगाउनमा हुने ढिलाइकै कारण घाइतेले अकालमा ज्यान गुमाइरहेको पाइएको छ ।

    कतिपयमा अझै पनि कुकुरले टोकेपछि अस्पताल जानुपर्छ/लैजानुपर्छ भन्ने चेतनाकै कमी छ । ‘सानो छाउराले टोकेको केही हुन्न’ वा ‘सानो चोट लागेको छ केही हुन्न’ भनेर उपचारमा जान गरिने हेलचक्र्याइँका कारण पनि कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    अझै पनि कुकुरले टोके भने परिवारलाई जानकारी गराउने, जतिसक्यो चाँडो घाइतेलाई अस्पताल पु¥याएर भ्याक्सिन दिनुपर्ने चेतनाको अभाव छ । “संसारभरी नै रेबिजको उपचार छैन । त्यसको उपचार भनेको टाइममा भ्याक्सिन लगाउने नै हो ।

    समयमा भ्याक्सिन लगायो भने कसैले ज्यान गुमाउन पर्दैन,” डा. मल्लिकले भने, “अहिलेसम्म समयमा एन्टीरेबिज भ्याक्सिन लगाएको मान्छेले ज्यान गुमाउनु परेको छैन । तर भ्याक्सिनले काम गर्ने टाईम हुनुपर्‍यो । यत्तीको चेतना अभाव हुँदा र कतिपय अवस्थामा हुने हेलचक्र्याइँले रेबिज काल बनिरहेको छ ।”

    सम्बन्धित समाचार