Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    महुरे–फोक्सिङटार सडक कालोपत्रेमा ढिलासुस्ती

    महुरे–फोक्सिङटार सडक कालोपत्रेमा ढिलासुस्ती


    • शुक्रवार, चैत्र ४ २०७८

    • नेपाल वाइड


    महुरे–फोक्सिङटार सडक कालोपत्रेमा ढिलासुस्ती
    निर्माणाधिन महुरे–फोक्सिङटार सडक ।

    खोटाङ, चैत ४ । खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएको छ । उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको हो ।

    २०७७ साल असारमा कालोपत्रे भइसक्नुपर्ने सडक हाल हिउँदमा बुङबुङ धुलो उँड्ने र वर्षामा हिलाम्मे हुने गरेको छ । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासीले सास्ती खेप्नु परिरहेको छ ।

    खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीसिथत फोक्सिङटारमा बेलिब्रिज राखेको बेलामा महुरे–फोक्सिङटार सडक प्रयोग हुने गरेको छ ।

    महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

    भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

    ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउनुभयो ।

    यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगती भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो ।

    कोभिड–१९ को महामारी कारण देखाएर दुबै खण्डको म्याद आगामी चैतसम्म थप गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै छल्ने गरेको स्थानीय भोलानाथ घिमिरेले बताउनुभयो ।

    सम्बन्धित समाचार