बिहिवार, चैत्र १० २०७८
नेपाल वाइड
खोटाङ, १० चैत । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भइ नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेद्वार नवनाउन आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका राजनैतिक दललाई पत्राचार गर्दै आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्ताका रुपमा किटान भएका नेता तथा कार्यकर्तालाई टिकट नदिन सचेत गराएको हो ।
आयोगले स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनितिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्ययवेक्षक र मतदातालाई आग्रह गरेको छ ।
कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बिहिबार जारी गरेको प्रेस नोटमा समानुपाति समावेशी सिद्धान्तको आधारमा उम्मेद्वार तय गर्न, निर्वाचन प्रचार–प्रसारका क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न, निर्वाचनको अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्धेष फैलने जस्ता अमर्यादित किसिमका शब्द कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न आव्हान गरेका छन् ।
निर्वाचन आयोगबाट जारी आचार संहिताका विशेषतः मानव अधिकारसँग सम्वन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गरेका छन् ।