बुधवार, चैत्र १६ २०७८
नेपाल वाइड
खोटाङ, १६ चैत । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पक्की पुल अभावमा स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन् । सदियौंदेखि ढुंगा सञ्चालन हुँदै आएको बंशिलाघाटमा २०७५ सालमा झोलुङ्गे पुल बनेपनि मोटरेबल पुलको अभावमा खोटाङको दक्षिणी क्षेत्रका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।
झोलुंगे पुलले बंशिलाघाटको डुंगा विस्थापित गरे पनि गर्हौ सामान झोलुङ्गे पुलबाट तार्न सकस भइरहेको मौवाबोटेका वडासदस्य हरिबहादुर मगरले बताए । झोलुंगे पुल बन्नुअघि बंशिलाघाट नजिकै रहेको बुवाँजोरघाटमा काठको डुंगा चलाउने गरिन्थ्यो । “बंशिलाघाटमा पक्की पुलको आवश्यकता छ तर बन्ने छाँट छैन,” वडा सदस्य मगरले भने, “पुल नहुँदा भोजपुर वा फोक्सिङटारको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । झोलुंगे पुलबाट गर्हौ सामान वारपार गराउन सकिन्न ।”
बंशिलाघाट खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पुर्वी शहर बाहिरिने र भित्रिने प्रमुख नाका हो । बंशिलाघाटमा बनेको झोलुंगे पुलबाट स्थानीयको दैनिक बाक्लो ओहोर–दोहोर भइरहन्छ ।
जन्तेढुंगा र बराहपोखरीका स्थानीयले उदयपुरको बेलटार, बसाहालगायतका बजारबाट बंशिलाघाट तारेर दैनिक उपभोग्य सामग्रीदेखि सिमेन्ट, रडलगायतका निर्माण सामग्री भित्र्याउने गरेका छन् । बंशिलाघाटको वारी र पारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भए पनि मोटरेबल पुल निर्माण नहुँदा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य बनेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्ट बताउँछन् ।
बंशिलाघाट तराईबाट नुनदेखि सुन भित्र्याउने तथा सुन्तला, अलैंची, अम्लिसो, तेजपातलगायतका स्थानीय उपज निर्यात गर्ने द्धार हो । बंशिलाघाटबाट सुनकोसी पार गरेपछि उदयपुरको बेलटार हुँदै इटहरी, बिराटनगर, धरानलगायतका शहर पुगिन्छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणका लागि अझै सुरसार हुन नसकेको स्थानीयको गुनासो छ ।
जन्तेढुंगा गाउँपालिकाको चिसापानीबजारबाट मौवाबोटे–पौवासेरा हुँदै बंशिलाघाट पुग्ने कच्ची सडक २०७२ सालमा बनेको हो । उदयपुरतर्फ २०७० सालअघि छुइलासम्म र २०७२ देखि छुईलाबाट बंशिलाघाटसम्म सडक विस्तार भएको थियो । बंशिलाघाटबाट पैदल अढाइ घण्टामा बेलटार झरिन्छ । बाईकमा बढिमा एक घण्टामै बेलटार पुगिन्छ ।
बंशिलाघाट बाहेक खोटाङको दक्षिणी क्षेत्रको प्रमुख नाका चमेरेघाट (मौवाबोटे) र धाप्लाङघाट पनि हो । चमेरेघाटमा २०३६ सालदेखि झोलुंगे पुल सञ्चालनमा छ । झोलुंगे पुल रहेको धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको चरणमा छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको काम अलपत्रको अवस्थामा छ । चमेरेघाटबाट पनि बेलटार पुगिन्छ । धाप्लाङघाटबाट गाईघाट पुगिन्छ ।
खोटाङका गठबन्धन दलले बंशिलाघाटमा पक्की पुल निर्माण नभएसम्मका लागि फेरी वा बेलिब्रिज जडानको माग गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ८ चैतमा माग–पत्र बुझाउँदै बंशिलाघाटमा यातायातका सवारी साधन ओहोर–दोहोर गर्न मिल्नेगरी फेरी वा बेलिब्रिज जडानको व्यवस्थाका लागि माग गरेका हुन् ।
गठबन्धन दलले खोटाङ र उदयपुरको फोक्सिङटारमा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले सो स्थानमा राखिएको बेलिब्रिज बंशिलाघाटमा सार्ने व्यवस्थाका लागि आग्रह गरेका छन् । प्राकृतिक नाकाबन्दी तोडेर यातायातमा पहुँच पुर्याउनका लागि बंशिलाघाटमा फेरी वा बेलिब्रिज राखेर अस्थायी रुपमा आवत–जावत सहज गराउन माग गरिएको नेता बिष्टले बताए ।