Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको म्याद नथप्न सिफारिस

    खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको म्याद नथप्न सिफारिस


    • बुधवार, चैत्र ३० २०७८

    • नेपाल वाइड


    खोटाङ बृहत पम्पिङ खानेपानी आयोजनाको म्याद नथप्न सिफारिस
    हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको अनुगमनकाक्रममा ।

    खोटाङ, ३० चैत । निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ ।

    हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैठकले २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा नभएको भन्दै थप म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको आयोजनाको दोश्रोपल्ट थप भएको म्याद बुधबार सकिएको छ ।

    निर्माण कम्पनी दिवा–महादेव खिम्तीले पुःन म्याद थपका लागि प्रकृया अघि बढाएको अवस्थामा उपभोक्ता समितिले म्याद नथप्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    उपभोक्ता समितिका अध्यक्ष एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर अध्यक्ष इवन राई, उपाध्यक्ष डिल्ली चाम्लिङ, सचिव हस्तबहादुर राई, सह–सचिव रमेशकुमार बस्नेत, संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जन, खानेपानी विज्ञ गंगादत्त नेपाल, निर्माण कम्पनीका प्रतिनिधि लगायतको उपस्थितिमा भएको बैठकले आयोजनाको म्याद थप्न नहुने निर्णय गरेको हो ।

    दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्काको काम दिवा–महादेव खिम्तीले गरिरहेको छ ।

    यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको हो ।

    मेनलाईनको म्याद नाघेको ३३ महिना र वितरणलाईनतर्फको म्याद नाघेको २१ महिना बित्दा ७५ प्रतिशत काम सम्पन्न भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।

    सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको ७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोड भन्दा बढिको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको छ ।

    सम्बन्धित समाचार