शनिवार, बैशाख ३ २०७९
दमन राई/सर्य तामाङ
खोटाङ, ३ बैसाख । खोटाङमा नेता ठेकेदारले जिम्मा लिएका अधिकांश ठेक्कामा ढिलासुस्ती भएको पाइएको छ । पद र शक्तीमा बसेका नेता ठेकेदारको निर्माण कम्पनीले जिम्मा लिएका सडक कालोपत्रे र लिफ्टिङ खानेपानी आयोजनाको काममा चरम ढिलासुस्ती भएको हो । शक्ती र पदमा बसेका ठेकेदारको अटेरीका कारण जिल्लाका गौरवको आयोजना अलपत्र अवस्थामा पुगेको युवा नेता यादवसेन राई बताउँछन् ।
निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवाका सञ्चालक रबि सिंह निर्माण व्यवसायी महासंघका अध्यक्ष छन् । सिंहकै महादेव खिम्ती र दिवा निर्माण सेवाले ठेक्का लिएको खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको मेनलाईनको काम भने पटक–पटक म्याद गुज्रदा समेत पुरा भएका छैनन् । मेनलाईनको सम्झौता म्याद नाघेको ३३ महिना बित्दा करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
दिवा–महादेव खिम्तीले दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का लिएको हो ।
दिवा–महादेव खिम्तीले १७ पुस २०७६ मा सम्पन्न गर्नेगरी २१ असार २०७४ मा आयोजनाको मेनलाईनको कामको ठेक्का सम्झौता गरेको थियो ।
सोही आयोजनाको काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनको काम उस्तै निराशाजनक छ । निर्माणको काममा ढिलासुस्ती गर्ने लामा कन्ट्रक्सनका सञ्चालक जिपछिरिङ लामा कांग्रेसकातर्फबाट सांसद छन् ।
यस्तै, कांग्रेस डोल्पा सभापति दिपेन्द्र शाहीको सिद्धिसाई संवद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्ग अन्तरगत सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको काम निरासाजनक छ ।
तेश्रोपल्ट थप भएको म्याद सकिँदा समेत कालोपत्रे बिछ्याउने तरखर देखिन्न । हालसम्म सेखुवा–चखेवा भञ्ज्याङ खण्डको कालोपत्रेको काम करिब ३५ प्रतिशत मात्र भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरि २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो ।
शाहीकै सिद्धिसाई संलग्न महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम अलपत्र छ ।
भारत कन्ट्रक्सन/सिद्धिसाई जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको करिब ४५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताउँछन् ।
महुरे–फोक्सिङटार सडककै सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम पनि अलपत्रकै अवस्थामा छ । देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सो खण्डको काम करिब ५० प्रतिशत सकिएको छ । कोभिड–१९ को महामारी कारण देखाएर थप भएको दुबै खण्डको म्याद गत ३० चैतमा सकिएको छ ।