Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा कृषि गणना सुरु

    खोटाङमा कृषि गणना सुरु


    • बुधवार, बैशाख ७ २०७९

    • नेपाल वाइड


    खोटाङमा कृषि गणना सुरु
    जिल्ला कृषि गणनाको कार्यालयले दिक्तेलमा आयोजना गरेको कृषि गणना सम्वन्धी सचेतना गोष्ठीका सहभागी ।

    खोटाङ, ७ बैसाख । खोटाङमा कृषि गणना सुरु गरिएको छ । सातौं राष्ट्रिय कृषि गणना अन्तरगत आगामी १९ जेठसम्म सञ्चालन हुने कृषिगणनाको काम मंगलबारदेखि सुरु गरिएको हो ।

    कृषि गणनाका लागि छानिएको क्षेत्रमा १७ सुपरिवेक्षक र ६२ गणक खटाइएका छन् । कृषि गणनामा जिल्लाका १० स्थानीय तहका ७९ वडामध्ये ७४ वडाका १८१ क्षेत्रका करिब ४ हजार ४२५ कृषक समेटिने जिल्ला कृषि गणना अधिकृत जीतबहादुर कोईराला (जेबी)ले बताए ।

    कृषि बिकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एबं नीति निर्माण, अनुगमन तथा मूल्यांकन गर्न आवश्यक तथ्यांक तयार पारेर योजनाविद र नीति निर्मातालाई सघाउ पु¥याउने उद्धेश्यले देशव्यपी कृषिगणना सुरु गरिएको हो ।

    कृषि गणनामा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छी पालन तथा कृषिमा वातावरणीय प्रभाव सम्वन्धी विवरण समेटिने कोईरालाले बताए ।

    ‘कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीको उत्पादन र सिँचाई विवरण लिइने छ,’ कोईरालाले भने, ‘कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहार सम्वन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ती, लिंगको आधारमा कृषि जगगाको स्वामित्ववको अवस्थाको बारेमा तथ्यांक संकलन गरिन्छ ।’

    कृषि गणनाका लागि जिल्लाको केपिलासगढी गाउँपालिकाका ६ वडामा १६ गणना क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाका ७ वडामा १९ गणना क्षेत्र, रावाबेँसी गाउँपालिकाका ६ वडामा १७ गणना क्षेत्र, हलेसी तुवाचुङ नगरपालिकाका ९ वडामा १८ गणना क्षेत्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडामा २६ वटा गणना क्षेत्र निर्धारण गरिएको छ ।

    यस्तै, साकेला गाउँपालिकाका ५ वडामा १६, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७ वडामा १९, खोटेहाङ गाउँपालिकाका ८ वडामा २१, जन्तेढुंगा गाउँपालिकाका ६ वडामा १५ र बराहपोखरी गाउँपालिकाका ६ वडामा १४ गणनाक्षेत्र निर्धारण गरिएको छ ।

    कृषि गणना सफल बनाउनका लागि बुधबार जिल्ला समन्वय समितिको सभाहलमा कृषि गणना सम्वन्धी सचेतना गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले कृषि गणनालाई प्रभावकारी बनाउन सहयोग र सहजीकरण गर्न आग्रह गरेका छन् ।

    नेपालमा २०१८ सालदेखि कृषि गणना सुरु गरिएको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालका करिब ६८ लाख घरपरिवारमध्ये करिब ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइएको छ ।

    सम्बन्धित समाचार